नेपाल यू–१९ एसिया कपका लागि छनौट

सफल खबर संवाददाता

मंगलबार, २४ असार २०७६, १३ : २४
नेपाल यू–१९ एसिया कपका लागि छनौट

काठमाडौं । हङकङलाई हराउँदै नेपालले एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता २०१९ को उपाधि हात परेको छ । मंगलबार मलेसियाको किनरारा ओभलमा भएको फाइनल खेलमा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । 

यो सँगै नेपालले यू–१९ एसिया कप खेल्ने भएको छ । एसिया कपको यो संस्करण २८ अगष्टदेखि श्रीलंकामा हुनेछ । प्रतियोगितामा आयोजक श्रीलंकासँगै अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, यूएई, कुवेतसँगै नेपाल रहनेछन् ।

हङकङले दिएको ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । 

नेपालका लागि ओपनर पवन सर्राफले विस्फोट ब्याटिङ गर्दै सर्वाधिक ३९ रनको योगदान दिए । उनले यसक्रममा ५ चौका र एक छक्का हिर्काए । त्यस्तै रीत गौतमले १३ तथा कप्तान रोहित कुमार पौडेलले १२ रनको योगदान दिए । भीम सार्की ८ रन बनाउँदै नटआउट रहे ।

यसअघि मलेसियाको क्वाललम्पुरस्थित किनरारा ओभलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो ।  टस हारेर ब्याटिङ थालेको हङकङ ४३.१ ओभरमा अल आउट हुँदै ९५ रनमा समेटियो । हङकङका लागि कप्तान अदित गोरावाराले २४ रन बनाए भने कलहान मार्क चालुले १९ रन बनाए । हङकङका ८ ब्याट्सम्यानले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । 

हङकङलाई सस्तोमा समेट्न नेपालका लागि सागर ढकालले ५ विकेट लिए । उनले १० ओभर बलिङ गर्दै ५ मेडनसहित १८ रन खर्चेर पाँच विकेट लिए । त्यस्तै, कमलसिंह ऐरीले ३ विकेट लिए । कुशल मल्ल र तिलक राज भण्डारी १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस