पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु

शनिबार, २१ असार २०७६, १२ : ०६
पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु

लहान । सिरहाको लक्ष्मीपुर गाउँपालिका–४ स्थित पोखरीमा डुबेर दुई दिदीबहिनीको मृत्यु भएको छ । वडा नं ४ स्थित साझा पोखरीमा डुबेर स्थानीय नथु कुमार यादवका छ वर्षीया छोरी लक्ष्मीकुमारी यादव र चार वर्षीया आशुकाकुमारी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । 

खेल्ने क्रममा शुक्रबार साँझ पोखरीमा डुबेर दुबै दिदीबहिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । 

गाँजासहित एक भारतीय पक्राउ 
प्रहरीले लागुऔषध गाँजासहित सिरहा नगरपालिका–१७ बाट एक भारतीय युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय माड्रबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको मोटरसाइकल जाँच गर्दा लागुऔषध गाँजासहित भारतको मधुबनी बस्ने २८ वर्षीय शत्रुधनकुमार सिंहलाई पक्राउ गरेको हो । पक्राउ परेका सिंहको साथबाट अन्दाजी पाँच किलो ४५० ग्राम लागुऔषध गाँजा बरामद् भएको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिनुभयो । 

उजूरी बढे 
गोलबजार नगरपालिकाको न्यायिक समितिमा जग्गा विवाद सम्बन्धी उजूरी बढी दर्ता भएका छन् । न्यायिक समिति गठन भएयता १३५ उजूरी दर्ता भएकामा जग्गा विवादका सबै भन्दा बढी उजूरी परेका छन् ।(रासस)

अधिकांश उजूरी जग्गाको सिमाना, एक जनाको हकको जग्गा अरुबाट भोगचलन गरेको, एउटाको जग्गा अर्काले मिचेको जस्ता उजूरी नगरपालिकाको न्यायिक समितिमा बढी आउने गरेको नगरपालिकाका कानूनी सल्लाहकार चेतबहादुर थापाले जानकारी दिनुभयो । 

आर्थिक वर्ष ०७५÷०७६ को हालसम्म दत्र्ता भएका १३५ उजूरीमध्ये ४५ मुद्दा मेलमिलापका माध्यमबाट समाधान गरिएको र २८ मुद्दामा मिलापत्रको पहल भइरहेको तथा ५० मुद्दा माथिल्लो निकायमा कारवाही प्रक्रियामा जान पठाइएको कानूनी सल्लाहकार थापाले बताउनुभयो ।   (रासस) 

प्रतिक्रिया दिनुहोस