आमाको हत्या गरेको आरोपमा छोरा जङ्गबहादुर पक्राउ

शुक्रबार, २० असार २०७६, १८ : ५१
आमाको हत्या गरेको आरोपमा छोरा जङ्गबहादुर पक्राउ

सप्तरी । सुरुङ्गा नगरपालिका–१ चहकाकी ६४ वर्षीया धनमाया पुलामी मगरको हत्या गरेको आरोपमा पक्राउ परेका उहाँकै छोरालाई प्रहरीले आज सार्वजनिक गरेको छ । 

हत्या आरोपमा घटनास्थलबाटै पक्राउ परेका मृतकका आफ्नै छोरा ३४ वर्षीय रिठ्ठे भनिने जङ्गबहादुर पुलामी मगरलाई आज जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । प्रहरी नायब उपरीक्षक भावेश रिमालले हत्या आरोपमा बिहीबार साँझ खुकुरीसहित जङ्गबहादुरलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

दुबै हातमा खुकुरी लिएर धम्क्याइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय भेडियाको टोलीले आरोपितलाई पक्राउ गरेको हो । उनलाई आज अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय कडरबोनामा राखिएको छ । 

खुकुरी प्रहारले गर्धनसहित टाउको पछाडी तीन ठाउँमा र अनुहारमा दुई ठाउँमा काटिएको रक्ताम्य अवस्थामा धनमायाको शव फेला परेको थियो । शवको आज रामप्रसाद शारदा उमाप्रसाद मुरारका अस्पताल लहानमा परीक्षण गरिएको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस