दाशढुङगा र मौरी पुल सञ्चालनको तयारीमा

प्रकाश सिग्देल

शुक्रबार, २० असार २०७६, १७ : ४४
दाशढुङगा र मौरी पुल सञ्चालनको तयारीमा

– प्रकाश सिग्देल
चितवन । नारायणगढ–मुगलिङ् सडक खण्डका दुई वटा पुल एक हप्ताभित्र सञ्चालनमा आउने भएका छन् । दाशढुङ्गा पुल र मौरी पुल निर्माणको काम पुरा भएर अब पिच गर्ने तयारीमा रहेको र यही आर्थिक वर्षभित्रै पुल सञ्चालन हुने नारायणगढ मुगलिङ् सडक आयोजनाका सुचना अधिकारी शिव खनालले बताउनुभयो । त्यस्तै खानी खोला पुलको पनि १ हप्तामा सबै काम सकिने र पिच गर्ने अवस्थामा पुग्ने उहाँ बताउनु हुन्छ ।

आर्थिक वर्ष सकिन लागेको र सबै स्थानीय तहले धमाधम पिच गर्ने क्रम तीब्र पारेकाले पनि पिचका लागि कच्चा पदार्थको पालो नपाउँदा अहिले कालो मात्रै हालेर राखेको खनालले बताउनभयोु । कच्चा पदार्थ पाउनासाथ पिच गरेर पुल चालु गर्ने तयारीमा आफुहरु रहेको खनालले बताउनुभयो ।  

त्यस्तै जलबिरे पुलको भने फाउण्डेसनको मात्रै काम भएको उहाँले बताउनुभयो । अव वर्षात सुरु भएकाले यो असार साउनमा त्यसको खासै काम नहुने उहाँको भनाइ छ । जलबिरे पुलको भने तिनवटा पिल्लर निर्माण कार्य झण्डै अन्तिम चरणमा पुगेको छ ।

जलवीरे पुल ८० मिटर लामो छ । मौरीपुल ३०, खानीपुल ३० र दासढुङ्गा पुल २० मिटर लम्बाइ रहेको बताईएको छ । सबै पुलको चौडाइ भने ११ मिटर रहेको छ ।  नारायणगढ मुगलिङ् सडक खण्डका १८ पुलमध्ये ४ पुलको निर्माण गरिएको हो । बाँकी पुलको निर्माण प्रक्रिया भने अगाडि बढेको छैन् । हाल निर्माण भइरहेका चार पुल नारायणगढबाट १२ किमी दासढुंगा, १६ किमी खानी खोला, २२ किमी मौरी खोला र २९ किमी जलबिरेमा रहेका छन् । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनीयर शिव खनालका अनुसार नयाँ पुल ११ मिटर चौडा छन् । पुलको दुवैपट्टि छेउमा फुटपाथ समेत निर्माण भएको छ । नयाँ पुल सञ्चालनमा आएपछि पुराना पुललाई पनि मर्मत गरी आवतजावत गर्न मिल्ने अवस्थामा राखिनेछ । त्यस्तै सडकमा अहिलेसम्म पहिरोको जोखिम नभएको उहाँको भनाइ छ ।
 

प्रतिक्रिया दिनुहोस