सामाजिक विविधतामा एकता आवश्यक : मुख्यमन्त्री गुरुङ

विहीबार, १९ असार २०७६, १३ : ०४
सामाजिक विविधतामा एकता आवश्यक : मुख्यमन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विविधतायुक्त हाम्रो समाजमा वर्षौंदेखि चल्दै आएका रीतिरिवाज, चालचलनका आधारमा विविधतामा एकता कायम गर्नुपर्ने आवश्यकता औँल्याउनु भएको छ ।

एभरेष्ट बैंक लिमिटेडको सहयोगमा पोखराको शान्तिघाटस्थित सेती नदी किनारमा निर्मित वातावरण मैत्री शवदाहगृहको आज यहाँ उद्घाटन गर्दै उहाँले विभिन्न जातजाति, भाषाभाषीको नेपाली समाजको दिगो एकता अरूका लागि पनि अनुकरणीय भएको चर्चा गर्नुभयो ।

कुनै पनि नाममा हुने एकता विरोधी गतिविधि हामीहरुका लागि सह्य नहुने उल्लेख गर्दै प्रत्येक धर्म, संस्कृतिप्रतिको सम्मानलाई एकापसमा कायम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रकृतिको अनुपम वरदानका रुपमा पोखरा रहेको चित्रित गर्दै मुख्यमन्त्री गुरुङले यहाँको सौन्दर्यतालाई क्षयीकरण हुन नदिन सबैको सचेतता अपरिहार्य भएको बताउनुभयो ।

वातावरण मैत्री शवदाहगृह निर्माणसँगै यहाँको वातावरणीय स्वच्छतामा महत्वपूर्ण टेवा पुग्ने उहाँको भनाइ छ ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शवदाहगृहको व्यवस्थित सञ्चालनका लागि कार्यविधि तय गरिने जानकारी दिँदै यसले वातावरण संरक्षणका साथै वन पैदावारको जगेर्नामा पनि सहयोग पु¥याउने धारणा राख्नुभयो ।

एभरेष्ट बैकका निर्देशक डा बालगोपाल वैद्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शवदाहगृह निर्माणमा सहयोग गरेको बताउँदै यसको उपयोगसँगै संरक्षणमा जोड दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा निर्देशक वैद्यले शवदाहगृह महानगर प्रमुख जिसीलाई हस्तान्तरण गर्नुभएको थियो ।

रु एक करोड ३० लाखको लागतमा निर्मित आधुनिक शवदाहगृहमा एउटा शव जलाउन एक सय किलो दाउरा र एक घण्टा २० मिनेट मात्र समय लाग्ने कार्यक्रममा जानकारी दिइयो ।(रासस)

प्रतिक्रिया दिनुहोस