गैंडाकोट नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक, समृद्धिका लागि नगरले ल्यायो दुई दर्जन कार्यक्रम

प्रकाश सिग्देल

बुधबार, १८ असार २०७६, १८ : २९
गैंडाकोट नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक, समृद्धिका लागि नगरले ल्यायो दुई दर्जन कार्यक्रम

नवलपुर । गैंडाकोट नगरपालिकाले बुधबार आर्थिक वर्ष २०७६/७७ को निति तथा कार्यक्रम प्रस्तुत गरेको छ । उक्त नीति तथा कार्यक्रम गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले प्रस्तुत गर्नु भएको हो ।  निति तथा कार्यक्रम ६ वटा शिर्षकमा विभाजन गरी प्रस्तुत गरिएको थियो । जसमध्ये पूर्वाधार विकास, राजश्व तथा स्रोत परीचालन, आर्थिक विकास, वन वातावरण तथा विपत व्यवस्थापन आदी रहेका छन् । यसै गरी आर्थिक वर्ष २०७६÷७७ अनुमानीत आय व्ययको विवरण उप–प्रमुख विषु कुमारी कडेंलले प्रस्तुत गर्नु भएको थियो । नगरमा आर्थिक वर्ष २०७६/७७  मा आन्तरीक, संघ र प्रदेशबाट ६४ करोड, ६८ लाख ७३ हजार ३९९ रुपैयाँ प्राप्त हुने अनुमानीत आय विवरण प्रस्तुत गरिएको छ । आर्थिक वर्ष २०७६/७७ मा १४ वटा शिर्षकमा रहेको कार्यक्रममा ६४ करोड, ६८ लाख ७३ हजार ३९९ रुपैयाँ खर्च हुने अनुमानीत खर्चको विवरण प्रस्तुत गरिएको छ ।

गैँडाकोटको समृद्धिका लागि नगरपालिकाले १० वटा कुरालाई प्रमुख आधारको रुपमा मानेको छ । जस अन्तर्गत कालिगण्डकी करिडोर, विपि अन्तराष्ट्रिय खेलग्राम निर्माण,  नारायणी नदी किनारबाट पर्यटन मार्ग विकास, गरिबी मुक्त गैँडाकोट अभियान, १ वडा १ विशिष्टीकरण उत्पादन सेवा, सहित्य कला संस्कृति र पर्यटनको विकास, मनमोहन राष्ट्रिय रंगशाला, शैक्षिक हब (शिक्षाको केन्द्रको रुपमा विकास) सामाजिक संघसंस्था एवं सहकारीहरुको विकास र कनेक्टीङ गैँडाकोट अभियान रहेका छन् ।

यसै गरी प्रदेश सरकारबाट आर्थिक वर्ष २०७६/७७ मा सम्पन्न गर्ने गरी २३ वटा शिर्षकमा कार्यक्रमहरु आएका छन् । जसमा खानेपानी सिँचाई, कोटथर डाडाझेरी बुलिगंटार सडक, गैंडाकोट चक्रपथ कालोपत्रे, हर्दी हँुदै देवघाट जोड्ने सडक, गैंडाकोटदेखि बुलिगंटार जाने सडक, गंैडाकोट ७ र ९ मा जयश्री खोलामा पुल,  ढोडेनी बहुउदेश्यीय भवन निर्माण लगायत रहेका छन् । प्रदेशले गैंडाकोटका विभिन्न वडामा खानेपानी र सिंचाईलाई बढि प्राथमिकतामा पारेको छ ।  

गैँडाकोटको समृद्धिका लागि दुई दर्जन नारा समेत नगरले सार्वजनिक गरेको छ ।  गैँडाकोट नगरपालिकाकाको समृद्धिका लागि करिब दुइ दर्जन नारा तथा कार्यक्रम तय गरिएको छ । गैंडाकोट नगरप्रमुख छत्रराज पौडेलले पाँचौँ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गैंडाकोटको समृद्धिका लागि दुई दर्जन नारा प्रस्तुत गर्नुभएको हो । नगरपालिकाले शहरी सौन्दर्यका लागि एक घर एक विरुवा तथा एक वडा एक हरियाली पार्क कार्यक्रमलाई पहिलो नम्बरमा समावेश गरेको छ ।

बाँकी कार्यक्रमहरु बुँदागत रुपमा यस प्रकार रहेका छन्

२. हरियाली नगर कार्यक्रम

३. उज्यालो सडक कार्यक्रम

४. म तरकारी विना खान्न, म तरकारी किन्न जान्न

५. क्लीन गैँडाकोट, ग्रीन गैंडाकोट

६. मेरो फोहोर मेरै व्यवस्थापन

७. जनताको घरदैलोमा मेयर कार्यक्रम

८. सुत्केरी आमा पोषिलो खाना

९. स्वास्थ्य र अनुशासित युवा विकासमा टेवा

१०. समृद्ध गैँडाकोट महाअभियान वर्ष

११. महिलासँग उपमेयर

१२. गरिबी मुक्त गैंडाकोट

१३. कृषिमा सहकारीको लगानी : नगरपालिकाको साझेदारी

१४. उत्पादन र उत्पादकत्व वृद्धि : कृषिबाट हाम्रो समृद्धि

१५. एक वडा एक उत्पादन

१६. विकास र धर्म

१७ स्वस्थ समाज हाम्रो अभियान

१८. बाल उद्यान र बालमैत्री खेलकुद मैदान

लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस