रेफ्रीहरूले ब्राजिललाई सहयोग गरेको मेस्सीको आरोप

बुधबार, १८ असार २०७६, १४ : ५४
रेफ्रीहरूले ब्राजिललाई सहयोग गरेको मेस्सीको आरोप

काठमाडौं । कोपा अमेरिकाको सेमिफाइनलमा अर्जेन्टिना ब्राजिलसँग २–० ले हारेपछि लियोनेल मेस्सीले रेफ्रीहरू ब्राजिलको पक्षमा रहेको आरोप लगाएका छन् ।

बार्सिलोनाका यी स्टारले फेरि एकपटक आफ्नो देशका लागि खेलमा निर्णायक प्रदर्शन गर्न सकेनन् । आयोजक ब्राजिलले बेलो होरिजोन्टेमा गाब्रिएल जेसुस र रोबर्टो फर्मिनोको गोलको मद्दतले फाइनलमा स्थान बनाएको छ । 

तर भिडियो असिस्टेन्ट रेफ्री र म्याच अफिसियल रोड्डी जाम्ब्रानोको प्रदर्शनलाई मेस्सीले चर्को आलोचना गरे । सर्जिओ अग्वेरोलाई पेनाल्टी नदिने निर्णयको उनले आलोचना गरेका हुन् । 

‘उनीहरूले हामीभन्दा गतिलो खेलेका हैनन् । उनीहरूले शुरूतिरै नेटमा बल पसाए र दोस्रो गोल पनि अग्वेरोले पाउनुपर्ने पेनाल्टीबाट भयो,’ मेस्सीले पत्रकारहरूलाई बताए । 

‘अधिकारीहरूले वाहियात तालले पहेंलो कार्ड दिए अनि भार पनि चेक गरेनन् । यो अविश्वसनीय छ । खेलभरि यसो भइरह्यो । ब्राजिलका खेलाडीलाई यसो छोयो कि उनीहरूले हामीलाई पहेंलो कार्ड देखाइहाल्थे । यस्तो वाहियात कामले हाम्रो ध्यान भंग गरिदियो । हामीले राम्रो खेल खेलेका हौं । हामीले राम्रो प्रयास गर्‍यौं तर उनीहरू हामीभन्दा उत्कृष्ट थिएनन् ।’

अर्जेन्टिनाले ब्राजिलका गोलकीपर एलिसनतर्फ १४ चोटि प्रहार गरेको भए पनि काम लागेन । दुईचोटि बल गोलपोस्टमा ठोक्कियो । 

ब्राजिलले भने पाएको दुईवटा अवसरको भरपूर सदुपयोग गर्‍यो । उसले खेलमा जम्मा चार शट पाएको थियो । जेसुस र फर्मिनोले गोल पनि गरे अनि एक अर्कालाई असिस्ट पनि । 

ब्राजिलले अब चिली र पेरुबीच हुने दोस्रो सेमिफाइनल विजेतासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल आइतवार माराकानामा खेलिनेछ । सन् २००७ पछि पहिलोपटक कोपा अमेरिका जित्ने लक्ष्य ब्राजिलले राखेको छ । - गोल डट्कमबाट

प्रतिक्रिया दिनुहोस