चीनलाई पराजित गर्दै नेपालको उत्कृष्ट शुरुवात

बुधबार, १८ असार २०७६, १३ : ३३
चीनलाई पराजित गर्दै नेपालको उत्कृष्ट शुरुवात

काठमाडौँ । एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा नेपालले चीनलाई पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुवात गरेको छ । 

मलेसियाको क्वालालम्पुरस्थित किनरा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुआत गरेको हो । 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चीनले नेपाललाई ५४ रनको सामान्य लक्ष्य दिएको थियो । ५४ रनको विजयी लक्ष्य बोकेर मैदान उत्रेको नेपालले पाँच ओभरमा कुनै पनि विकेट नगुमाई पूरा ग¥यो । 

नेपालको लागि पवन सर्राफ सर्वाधिक ४६ रनको योगदान दिए । उनले २१ बलमा तीन छक्का र छ चौकाको मद्दतमा ४६ रन बनाएका हुन । त्यस्तै रित गौतमले अविजित १० रन जोडे । जीतसँगै नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ ।

पराजित चीन भने प्रतियोगिताबाट बाहिरिएको छ । समूह चरणमा दुई खेल खेलेको चीन दुवै खेलमा पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको हो । पहिलो खेलमा चीन सिङ्गापुरसँग पराजित भएको थियो ।  

त्यसअघि पहिले ब्याटिङ गरेको चीनले २३ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ५३ रनमा समेटिएको थियो । चीनका लागि लियाङ चेन र गुओहाओले समान १३÷१३ रन जोड्नुबाहेक अन्यले दोहोरो अङ्क बटुल्न सकेनन् ।     

बलिङतर्फ नेपालका सागर ढकाल एक्लैले ६ विकेट लिँदा तिलक भण्डारीले तीन तथा कमल सिंह ऐरीले एक विकेट झारे । नेपालले समूह  चरणको अन्तिममा सिङ्गापुरसँग खेल्ने कार्यक्रम छ । उक्त  खेल यही असार २० गते हुनेछ ।  (रासस)

प्रतिक्रिया दिनुहोस