कोइरालाको जन्मजयन्तीमा नारायणी नदी किनारमा लाखबत्ती बालिने

मंगलबार, १७ असार २०७६, १६ : ४०
कोइरालाको जन्मजयन्तीमा नारायणी नदी किनारमा लाखबत्ती बालिने

चितवन । नेपाली काँग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री  गिरिजाप्रसाद कोइरालाको ९६औँ जन्मजयन्तीका अवसरमा लाखबत्ती बालिने भएको छ । 

काँग्रेस चितवनले नारायणी नदी किनारमा लाखबत्ती बाल्नका लागि जिल्ला सदस्य झलक गुरुङको संयोजकत्वमा तयारी शुरु गरिएको हो । दुई सय पालामा एक लाखभन्दा बढी बत्ती बाल्ने तयारी गरिएको संयोजक गुरुङले बताउनुभयो । यससँगै नारायणी किनारमा हुने  गण्डकी नारायणी संरक्षण महाआरतीको बुधबारको खण्ड  कोइरालाको नाममा समर्पित गरिने र यसका लागि लाग्ने सम्पूर्ण खर्च काँग्रेस चितवनले बेहोर्न लागेको महाआरतीका सल्लाहाकार टङ्कनाथ पौडेलले जानकारी दिनुभयो ।   

लाखबत्ती र दीप प्रज्वलनमा  काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री डा मीनेन्द्र रिजालको समेत उपस्थिति हुने जनाइएको छ । पार्टीका जिल्ला सभापति जीतनारायण श्रेष्ठले आफ्ना स्व नेताको सम्झनामा लाखबत्ती बालेर पहिलो पटक जन्मदिन मनाउन लागिएको जानकारी दिनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस