विद्युत अनियमित हुँदा भरतपुरका उपभोक्तालाई हैरानी

उर्गेन तामाङ

शनिबार, १४ असार २०७६, १२ : ४२
विद्युत अनियमित हुँदा भरतपुरका उपभोक्तालाई हैरानी

चितवन । छिनछिनमा विद्युत अवरोध हुँदा भरतपुर महानगरपालिकाका उपभोक्ताहरुले हैरानी व्यहोरिरहेका छन् । छिनमै जाने र छिनमै आउने विद्युतका कारण उद्योगी व्यवसायी, व्यापारी, सञ्चारमाध्यमदेखि विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय समेत हैरानीमा परेका छन् । 

चितवनलाई लोडसेडिङमुक्त जिल्ला घोषणा गरिए पनि अघोषित रुपमा विद्युत अवरोध भइरहँदा गर्मीको सिजनमा आमउपभोक्ता झन् समस्यामा परेका छन् । धेरैजसोले लोडसेडिङमुक्त भएपछि थन्क्याएका जेनेरेटर, इन्भर्टर लगायतका विद्युत व्याकअपका सामग्री धुलोपुछ्दै निकाल्न थालेका छन् । 

भरतपुर १० का रमेश शर्माले उखर्माउलो गर्मीमा लाईन जाँदा कोठामा बस्नै समस्या परेपछि थन्क्याइएको इन्भर्टर निकालेको बताए । यस्तै भरतपुर १० कै रेशम लामाले पनि छिनछिनमा विद्युत अवरोध भइरहँदा कम्युटरमा टाइप गर्ने काम गर्नै समस्या भइरहेकाले केही विकल्प सोचिरहेको बताए । अघोषित रुपमा हुने गरेको विद्युत अवरोधबारे अधिकांश उपभोक्ताहरु अनभिज्ञ देखिन्छन् । 

अघोषित लोडसेडिङले निजी तथा सार्वजनिक सभा समारोह लगायतका कार्यक्रमहरु पनि प्रभावित हुने गरेका छन् । केही दिनअघि भरतपुर महानगरपालिकाको चौथो नगर सभा पनि छिनछिनमा गइरहने विद्युतका कारण प्रभावित भएको थियो । नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथि रहेको नगर सभामा मेयर रेनु दाहालले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा पटकपटक लाईन काटिएको थियो । 

यस्तै अन्य अतिथिले सम्बोधन गर्ने क्रममा पनि विद्युत अवरोध हँुदा कार्यक्रमस्थल अन्धकार बनेको थियो । कार्यक्रमका सहभागीले नीति तथा कार्यक्रममा महानगरलाई लोडसेडिङमुक्त बनाउने कार्यक्रम नराखेकाले यस्तो भएको भन्न भ्याएका थिए । त्यतिबेला २९ वटै वडाका जनप्रतिनिधिदेखि महानगरका प्रमुख, उपप्रमुख, राजनितिक दलका प्रमुख, सांसदहुँदै नेकपा अध्यक्ष प्रचण्डले पनि महानगरवासीले भोगेको अघोषित लोडसेडिङको अनुभव राम्रैसँग गरेका थिए । 

लोड बढ्दा समस्या, भदौसम्म यस्तै
नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार गर्मी मौसममा लोड बढी हुँदा समस्या भएको हो । केन्द्रका प्रमुख सुरेशकुमार महतोले गर्मीमा धेरै विद्युत खपत हुँदा बढेको लोड अहिले भएको क्षमताले नधान्दा यो समस्या आएको बताए । भएका पूर्वाधारले लोड नधान्दा प्mयुज जाने, तार चुँड्ने, एमसीबी क्रिट हुने, ट्रान्सफर्मर जल्ने, तार जुध्ने लगायतका समस्या भइरहेको उनको भनाई छ । 

प्रमुख महतोका अनुसार पुस, माघको तुलनामा अहिले दोब्बरभन्दा बढी विद्युत खपत हुने गरेको छ । पुस, माघमा भरतपुर केन्द्र अन्तर्गत १ करोड युनिट खपत हुने गरेकोमा जेठमा साढे २ करोड युनिट विद्युत खपत भएको थियो । उनले भने ‘असार, साउन र भदौमा पनि त्यही हाराहारीमा खपत हुनेछ ।’ उनका अनुसार छिनछिनमा विद्युत जाने समस्या भदौसम्म कायम रहन सक्छ । 

काम भइरहेको छ
केन्द्रका प्रमुख महतोले केही पूर्वाधार निर्माणका क्रममा रहेकाले केही समयपछि लोड व्यवस्थापन हुने र यो समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन् । भरतपुर सबस्टेसनमा ८, चनौली सबस्टेसनमा ४, माडी सबस्टेसनमा २ गरी १४ वटा फिडर रहेको छ । केन्द्रबाट नारायणगढतर्फ जाने नयाँ लाईनमा ब्रेकर नहुँदा सञ्चालनमा आउन नसकेको महतोको भनाई छ । उनले ब्रेकरका लागि हेटौँडा ग्रिडमा पत्रचार गरिएको बताए । आँपटारीमा ५ वटा फिडर क्षमताको सबस्टेसन निर्माण कार्य अन्तिम चरणमा पुगेको र ८० प्रतिशत काम सकिएको उनले बताए ।  

उनका अनुसार, भरतपुर महानगरपालिका ६ देवनगरमा ४ वटा फिडर क्षमताको एउटा सबस्टेसन थप्ने प्रकृया सुरु भएको छ । अहिले जग्गा खरिदको काम अघि बढेको छ ।  यस्तै चनौलीमा रहेको ८ एमभिएको पावर ट्रान्समिटरको क्षमता वृद्धि गरी २० एमभिए गर्ने काम अघि बढेको छ । अहिले टेण्डर आह्वान गरिएको महतोले बताए । यस केन्द्र अन्तर्गतका ८६ हजार ग्राहक रहेका छन् । जिल्लामा भरतपुर वितरण केन्द्र र टाँडी वितरण केन्द्र गरी २ स्थानबाट विद्युत वितरण भइरहको छ ।

प्रतिक्रिया दिनुहोस