निर्वाचन पछि पाटी एकता हुन्छ ,शंका नगर्नुुुुस् : प्रचण्ड

सोमबार, २७ कार्तिक २०७४, १५ : ४०
निर्वाचन पछि पाटी एकता हुन्छ ,शंका नगर्नुुुुस् : प्रचण्ड


भरतपुर/माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुबै पाटी एकता हुनेमा शंका नगर्न बामगठबन्धका कार्यकर्तालाई आग्रह गर्नुभएको छ । सामाजिक संजाल र पत्रपत्रिकामा मंसिर ९ गते पार्टी एकता हुने विषयका समाचार आए पनि त्यो निरधार भएको स्पष्ट पार्नुभयो । भरतपुर १४ शिवनगरस्थित आफ्नै निवासमा सोमबार बिहान संचारकर्मीहरुसंग कुरागर्दै उहाँले सो कुरा बताउनु भएको हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पाटी एकता गर्ने विषयमा शंका छैन तर निर्वाचन लगत्तै हुन्छ – भन्नुभयो । उहाँले आगामी दिनमा बिचार भन्दा राष्ट्र र जनताको पक्षमा काम गर्नुपर्ने बताउनुभयो । उहाँले बिचार र सिद्धान्तको पछि लागेर अब जनतालाई दुःख दिन नहुने बताउनुभयो ।
शान्तिपूर्ण प्रतिस्पर्धाबाट समाजवाद सम्भव भएको भन्दै उहाँले नेपालमा आर्थिक समृद्धिमा केन्द्रीत हुनुपर्ने र सिद्धान्त मिलाउँदै लान सकिने बताउनुभयो । दुवै पार्टी एकीकरण हुँदा देखिने माओवादीको विषयलाई महाधिवेशनसम्ममा छलफल गरेर टुंगोमा पु¥याउन सकिने उहाँले बताउनुभयो । राष्ट्रको समृद्धि र जनताको हितलाई केन्द्रमा राखेर सिद्धान्त मिलाउँदै जानु पर्ने अध्यक्ष दाहालको भनाई थियो । उहाँले भन्नुभयो “मान्छेको लागि सिद्धान्त हो, सिद्धान्तका लागि मान्छे होइन ।” पार्टी एकता गर्दै गर्दा सिद्धान्तका विषयमा हुन सक्ने मतभेदका विषयमा दाहालले भन्नुभयो “बहुदलीय जनवादलाई आधार बनाएर एकता गर्दै जाउँ, नमिलेका कुरा छलफल गरी टुंग्याउँदै लैजाउँ, यो बढी राष्ट्रको हितमा हुन्छ ।” प्रचण्डपथ आधिकारिक भईसकेको अवस्थामा पनि म आफैले स्थगन गरेको भन्दै उहाँले अनुकूल समयमा यसलाई छलफल गर्न सकिने बताउनुभयो । माक्सवाद–लेनिनवाद दुवै पार्टीको मिल्ने सिद्धान्त भएको भन्दै उहाँले भन्नुभयो, “समाजवाद अबको हाम्रो उद्देश्य हो, रणनीति हाम्रो समाजवाद हो ।
पछिल्लो समय रोल्पा र रुकुममा माओवादी केन्द्रका उम्मेदवारहरुमाथि भएका आक्रमणको भत्र्सना गर्दै उहाँले यसमा विप्लव समूह र नेपाली कांग्रेसका स्थानीय तहका नेताको कहीन कही साठगाँठ देखिएको बताउनुभयो । विप्लव समूहका ठूलो संख्यामा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेपछि विक्षिप्त भएर आक्रमणमा उत्रिएको भन्दै उहाँले यस्तो समूहसँग कांग्रेस मिल्नु दुर्भाग्य भएको बताउनुभयो । हतियारसहित पक्राउ परेका विप्लव कार्यकर्ता छोड्न वहालवाला कांग्रेसका मन्त्रीले विज्ञप्ति जारी गरेको भन्दै उहाँले भन्नुभयो “तिमीहरु आतंक मच्चाओ,हामी चुनावको प्रचारमा जान्छौं भनेर विप्लव र कांग्रेसबीच तालमेल भएको तल्लो तहबाट रिपोर्ट आएको छ ।” उहाँले अगाडि थप्नुभयो “लोकतन्त्रवादी भन्ने कांग्रेसले कम्युनिष्टको तालमेललाई एकातिर अधिनायकवादी भन्ने आफूलाई चाहिं अपराधिक गतिविधि गर्नेहरुसँग साथ लिएर जान सुहाउँदैन ।” प्रधानमन्त्री शेरबहादुर देउवालाई सन्देश प्रवाह गर्न आग्रह गर्दै उहाँले भन्नुभयो “यसलाई नियन्त्रण गर्नुहोस्, यसले कांग्रेसको पनि हित हुँदैन ।”

विप्लव समूहलाई उहाँको आग्रह थियो “कि त जनयुद्ध शुरु भयो भनेर घोषणा गरेर आउनुहोस्, त्यो राजनीतिक विषय हुन्छ ।” निर्वाचनको संघारमा दुई पार्टी एकताको कुरा टुंगोमा पुगेकाले तत्काल संसदमा प्रमुख कार्यकारीको विषय संसदमा लान नभ्याईएको बताउनुभयो । अध्यक्ष दाहालले यसका लागि दुई तिहाई बहुमत बनाएर संसदमा लैजानु पर्ने भएकाले निर्वाचनपछि यो विषय अगाडि बढ्ने पनि बताउनुभयो ।

चितवन क्षेत्र नं। ३ मा निर्वाचनमा उम्मेदवार भएपछि अध्यक्ष दाहालले राष्ट्रिय सञ्चारमाध्यमहरुमा चितवनबाट समाचार पठाउने पत्रकारहरुलाई आफ्नै निवासमा डाकेर पहिलो पटक प्रतिक्रिया दिनुभएको हो ।

 

प्रतिक्रिया दिनुहोस