प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपिएफलाई

बुधबार, ११ असार २०७६, १३ : १०
प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपिएफलाई

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट राष्ट्रिय प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ ।

आज बिहान घरेलु टोली सुदूरपश्चिम प्रदेशलाई छ विकेटले पराजित गर्दै एपिएफले सो उपाधि जितेको हो । टस जितेर फिल्डिङ रोजेको एपिएफले निर्धारित २० ओभरको खेल ७१ रनमा समेटेको थियो । 

७२ रनको विजय लक्ष्य पाएको एपिएफले १४ ओभरमा चार विकेटको क्षतिसहित ७४ रन बनाउन सफल भयो । सेमिफाइनल खेल वर्षाका कारण अवरुद्ध भएपछि सुदूरपश्चिमले प्रदेश नं २ सित अङ्क बाँडेर अन्तिम चरणको खोलमा प्रवेश गरेको थियो भने एपिएफ सेमिफाइनलमा प्रदेश नं १ लाई हराउँदै समूह ‘बी’बाट अन्तिम चरणमा  पुगेको थियो ।

प्रतियोगितामा सात प्रदेश र विभागीय एपिएफ गरी आठ टोली सहभागी थिए । वर्षाका कारण चार खेलमा असर परेको थियो । उपाधि विजेता टोलीले  रु चार लाख पुरस्कार पाउनेछ भने  दोस्रो हुनेले रु तीन लाख र तेस्रो हुनेले रु दुई लाख पुरस्कार पाउने आयोजकले जनाएको छ । –रासस 

प्रतिक्रिया दिनुहोस