मानव अधिकार आयोग भन्छ : सर्लाही घटना मुठभेड होइन

सर्लाही पुगेर फर्कियो आयोग टोलि, आज बेलुकीसम्म निष्कर्षमा पुगिने

सफल खबर संवाददाता

बुधबार, ११ असार २०७६, ०८ : १९
मानव अधिकार आयोग भन्छ : सर्लाही घटना मुठभेड होइन

काठमाडौं । मुठभेडमा मारिएका भनिएका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल भिडन्तमा नमारिएको प्रारम्भिक निष्कर्ष राष्टिय मानव अधिकार आयोगले निकालेको छ ।

आयोगका सदस्य सुदीप पाठक नेतृत्वको टोलीको छानबिनले पौडेलको हत्या भिडन्तमा नभएको प्रारम्भिक निष्कर्ष निकालेको हो । यो घटनाबारेको प्रतिवेदन आयोगले आज सार्बजनिक गर्ने तयारी गरेको छ ।

पौडेलको हत्या प्रकरणलाई लिएर संसद देखि सडकसम्म सरकारको आलोचना भएको छ । पक्राउ गरेर पौडेललाई हत्या गरिएको उक्त पार्टीका महासचिव विप्लवले पनि लगाउदै आएका छन् । त्यसपछि नै आयोग देखि सांसद सम्मले घटनाका बारेमा चासो देखाएका हुन् ।

संसदीय समितिमा गृहमन्त्रीले मूठभेडमै मारिएको, आइजिपि सर्वेन्द्र खनालले पौडेल दोहोरो भिडन्तमै मारिएको र उनको विगत हेर्न सांसदहरुलाई जवाफ दिईरहदा आयोगको प्रारम्भिक अध्ययनले दोहोरो भिडन्तमा पौडेल मारिएको पुष्टि गर्न नसकिएको देखाएपछि पौडेल हत्या भिडन्तमा नभएको पुष्टि भएको छ ।

‘सर्लाहीमा प्रहरी र विप्लव कार्यकर्ताबीच दोहोरो भिडन्त भएको पुष्टि गर्न आफूहरूलाई अनुसन्धानका क्रममा गाह्रो भयो,’ आयोगको अनुसन्धान टोलीको नेतृत्व गर्दै सर्लाही पुगेर फर्केका आयोग सदस्य सुदिप पाठकले सफल खबरसँग भने,–‘यसमा हाम्रो टोलीले अझै अनुसन्धान गरिरहेको छ । सम्भवत आज बेलुकीसम्म निष्कर्षमा पुग्छौं ।’

उनले सर्लाहीमा मारिएका विप्लवका जिल्ला इञ्चार्ज  पौडेलको शरीर कस्तो थियो, कस्ता दाग थिए, थिएनन् भन्नेबारे फोटो मागेको र घटनामा फरार भनिएका तीन जना मान्छे कहाँ छन् भन्नेबारे अनुसन्धान जारी रहेको पनि बताए ।

गत असार ५ गते सर्लाहीको लालबन्दीमा प्रहरीको गोली लागेर पौडेल मारिएका थिए । सर्लाही घटनालाई लिएर मानवअधिकार आयोग तथा व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिले असन्तुष्टि जनाउँदै छानबिन गरी प्रतिवेदन पेश गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । सत्तारूढ दलकै सांसदहरूले पौडेललाई नियन्त्रणमा लिएर मारिएको बताउँदै आएका छन् ।

नेकपा सांसदहरु जर्नादन शर्मा, रेशा शर्मा लगायतले गृहमन्त्री रामबहादुर थापा (बादल)लाई पौडेल प्रकरणका विषयमा र्‍याखर्‍याख्ती पारेका थिए ।

 

प्रतिक्रिया दिनुहोस