नारायणी लिफ्ट सिँचाईबाट बिहीबारदेखि छताछुल्ल पानी

प्रकाश सिग्देल

आइतबार, ०८ असार २०७६, १७ : ३९
नारायणी लिफ्ट सिँचाईबाट बिहीबारदेखि छताछुल्ल पानी

चितवन । नारायणी लिफ्ट खगेरी सिँचाई ब्यवस्थापन कार्यालय चितवनले असारको १२ गतेदेखि नहरमा पानी संचालन गर्ने भएको छ । 

लिफ्टको ३ वटा मोटर मर्मत गरी जडानको काम भइरहेको र ११ गतेसम्म जडानको काम सकी १२ गतेबाट पानी संचालन गर्ने तयारीमा आफूहरु रहेको कार्यालय प्रमुख खेमबहादुर पाठकले बताउनु भयो । अहिले नहर सफा गर्ने र मोटर मर्मतको काम पनि अन्तिम चरणमा पुगेको बताउँदै पाठकले १५ गते धान दिवसको कार्यक्रम तय भएकाले १२ गते पानी संचालन गर्ने बताउनु भयो ।
 
११ गते फिटिङको काम सेकर पूजा गर्ने र भोलिपल्ट १२ गते बेलुकाबाट पानी निरन्तर रुपमा छोड्ने लक्ष्य लिएको पाठक बताउनु हुन्छ । दुई वटा मोटर जडान भइसकेको र अर्को सानो २ क्युमेकको मोटर पनि १० गतेभित्र जडान भइसक्ने पाठकको भनाई छ ।  

लगातार कात्तिकको पहिलो हप्तासम्म पानी छाड्ने योजनामा कार्यालय रहेको उहाँको भनाई छ । खगेरीमा पनि १५ गतेबाट पानी छाड्ने तयारी भइरहेको पाठकले बताउनु भयो । खगेरीमा स्थानीय तहले नहर मर्मतको केही काम गरिरहेकोले १३ गतेभित्र निर्माणको काम सक्न कार्यालयले उहाँहरुलाई भनेको उहाँको भनाई छ । 
नारायणी लिफ्टबाट भरतपुरको क्षेत्रसहित पश्चिम चितवनको ४७ सय हेक्टर जमिन र खगेरी लिफ्टबाट पश्चिम चितवनको ३९ सय हेक्टर जमिन सिँचाई गर्ने उद्देश्य अनुृरुप ती योजना निर्माण भएका हुन् । तर पछिल्लो समय भरतपुरमा बस्ती विकास भएसंगै नहर पुरिँदा ८ सय हेक्टर जमिनमा सिँचाई क्षेत्र घटेको कार्यालय प्रमुख पाठक बताउनु हुन्छ । 

हाल नारायणी लिफट्ले आफनो क्षेत्राधिकारको ३५ सय हेक्टर र खगेडी नहरको ५ सय हेक्टर जमिन गरी ४ हजार हेक्टरमा सिँचाई सुविधा पु¥याउँदै आएको पाठकको भनाई छ । नारायणी लिफ्ट उपभोक्ता, खगेरीका उपभोक्ता र कार्यालय मिलेर असार १५ गते श्रीपुरमा धान दिवस मनाउने कार्यक्रम तय भएको पाठक बताउनु हुन्छ । कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रमुख अतिथिका रुपमा ल्याउने योजनाका साथ समिति सक्रिय रुपमा लागेको उहाँको भनाई छ ।



सेतो हात्तीका रुपमा चिनिएको यो लिफ्ट चितवनको सुख्खा जमिन सिँचाईका लागि २०३५ सालबाट निर्माण सुरु भई २०४० सालमा सञ्चालनमा आएको हो । यसमा पानी तान्नका लागि चार वटा पम्प छन् । दुई वटा पम्पको क्षमता एक सेकेण्डमा दुई हजार लिटर तथा अरु दुई वटा पम्पको क्षमता एक सेकेण्डमा चार हजार लिटर पानी तान्ने छ ।

पश्चिम चितवन क्षेत्रमा सिँचाई सुविधा उपलब्ध गराउन भनेर ५२ करोडको लगानीमा निर्माण गरिएको नारायणी लिफ्टमा ३ वटा क्यानल छन् । नारायणी लिफ्टको ‘ए’ क्यानल पाँच सय मिटर, ‘बी’ क्यानल १९ किलोमिटर र ‘सी’ क्यानल १६ दशमलव ५ किलोमिटर लामो छ । नारायणी लिफ्टको पानी बी र सी नहरका लागि विभाजन हुन्छ । 

बी नहरले यज्ञपुरी, नारायणपुर, तोरीखेत, पारसनगर, देवनगर र फूलबारीसम्मको जमिनमा सिंचाई सुविधा उपलब्ध गराउँछ भने सी नहरले बसेनी, भोजाड, टिकौलीहुँदै गौरीगञ्जसम्म सिँचाई पु¥याएको पाठक बताउनु हुन्छ । नारायणगढ बसपार्क तल दियालो बंगाला दरबारसंगै नदी किनारमा मूल प्रणाली निर्माण भएको छ । त्यसको पाँच सय मिटर पर पुनः दुई वटा शाखा निर्माण गरी पानी पठाइएको छ । 

१८ मिटरमाथि लिफ्ट गरेर सी नहरबाट र लिफ्ट नगरी बी नहरबाट पानी पठाइन्छ । यो प्रणालीलाई थप ब्यवस्थित बनाउन ६० करोडको लगानीमा नयाँ पम्प स्थापनाका लागि रकम माग गरिएको कार्यालय प्रमुख पाठकले बताउनु भयो । उच्च प्रविधिको हाई हेडमा चल्न सक्ने पम्पका लागि विभागमा माग गरिएको प्रमुख पाठकको भनाइृ छ । 

नारायणी लिफ्ट सिञ्चाई उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटले हिउँदमा समेत पम्प चलाएर पश्चिम चितवनका जनतालाई सिँचाई सुविधा पु¥याउन आवश्यक रहेको  बताउनु हुन्छ । देश संघीयतामा गएपछि प्रदेश सरकार अन्तर्गत परेको यो आयोजना केन्द्र सरकारमा राखिनु पर्ने माग किसानहरुले गरेका छन् । 

प्रदेशले यो आयोजना धान्न नसक्ने र चितवनका किसान सिँचाईको अभावमा समस्यामा पर्न सक्ने भन्दै यसलाई केन्द्र अन्तर्गत राख्नु पर्ने माग किसानको छ ।

प्रतिक्रिया दिनुहोस