कष्टकर जीवन बिताउँदै कैदी : प्लाष्टिकको छानामुनि  बस्न बाध्य

शनिबार, ०७ असार २०७६, ०८ : ५९
कष्टकर जीवन बिताउँदै कैदी : प्लाष्टिकको छानामुनि  बस्न बाध्य

डोटी । जिल्ला कारागारका कैदी प्लाष्टिकको छानामुनि  बस्न बाध्य भएका छन् । कारागार भवन जीर्ण भएर चुहिन थालेपछि उनीहरु  कष्टकर जीवन बिताउन बाध्य भएका हुन् ।  

झरी परेका बेला पानी चुहिन्छ । जीर्ण कारागार भवन टालटुल गरे पानी चुहिने समस्या हटेको छैन । पानी चुहिने भएपछि कैदी प्लाष्टिक राखेर सुत्ने गरेका छन् । “राणाकालमा निर्माण गरिएको भवनमा स्लेट खिइएर झर्न थालेको छ”, कैदीबन्दीका नाइके दीपेन्द्र जेठाराले भन्नुभयो, “दिउँसो चौरमा बस्छौँ, छानो खस्ने  चिन्ताले पिरोल्छ ।” ढोका पुरानो भएका कारण लगाउन नमिल्ने अवस्थामा छ । 

बजेट अभावका कारण जीर्ण भवन मर्मतसम्भार गर्न नसकिएको कारागारका प्रमुख राजन केसीले बताउनुभयो । “भवन पुरानो भएकाले छत चुहिन्छ, कैदीलाई बस्न निकै गाह्रो भएको छ ।” पच्चीस कैदीको क्षमता रहेको डोटी कारागारमा हाल ४३ पुरुष कैदी ४३ र चार महिला कैदी रहेका छन् । क्षमताभन्दा बढी कैदी हुँदा खानेपानी र शौचालयको समस्या भएको छ । पालो पखर्नुपर्ने अवस्था छ ।  

दिपायल–सिलगढी नगरपलिकाले कारागार मर्मतका लागि रकम उपलब्ध  आश्वासन दिएको कारागार प्रशासन प्रमुख केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “रकम उपलब्ध हुने वित्तिकै मर्मत थाल्छौँं ।” कैदीलाई पढ्न सहज होस् भनेर नगरपालिकाको सहयोगमा जिल्ला प्रहरी कार्यालयले केही समय अघि कारागारमा पुस्तकालय स्थापना गरेको छ । डोटी कारागार सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कारागार हो । –रासस 

प्रतिक्रिया दिनुहोस