हनामी पाँचौँ चितवन च्याम्पियनसिप : जु फुटबल क्लब स्वत: तेस्रो घोषित

सफल खबर संवाददाता

शुक्रबार, ०६ असार २०७६, १९ : ०५
हनामी पाँचौँ चितवन च्याम्पियनसिप : जु फुटबल क्लब स्वत: तेस्रो घोषित

चितवन । भरतपुरमा जारी पाँचौँ हानामी चितवन च्याम्पियनसिप अन्तर्गत जु फुटबल क्लब तेस्रो भएको छ । चितवन च्याम्पियनसिपको पूर्व विजेता समेत रहेको जु फुटबल क्लब यस प्रतियोगितामा तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भएको हो । 
आज शुक्रबार तेस्रो स्थानका लागि जु फुटबल क्लब जुगेडी र देशभक्त फुटबल क्लब नवलपरासीबीच प्रतिस्पर्धा हुने भनिए पनि प्राविधिक कारणले देशभक्त फुटबल क्लब सहभागी नहुँदा जु फुटबल क्लब तेस्रो भएको हो । प्रतियोगिताको आयोजक एभरेष्ट क्लबका अध्यक्ष अशोक देवकोटाका अनुसार देशभक्त फुटबल क्लबले प्राविधि कारण देखाउँदै आजको खेलमा सहभागी नजनाएको हो । देशभक्त सहभागी नभएपछि जु फुटबल क्लबलाई स्वतः तेस्रो घोषित गरिएको छ । 
प्रतियोगिताको तेस्रो स्थान हासिल गरेसँगै जु फुटबल क्लबले ५० हजार रुपैयाँ पुरस्कार पाउने देवकोटाले जानकारी दिए । यसैगरी, प्रतियोगिताको भोलि फाईनल खेल हुनेछ । फाइलन खेलमा नवलपुरको अभिषेक चर्च रजहर र भरतपुरमा रहेको जुनियर प्रहरी अधिकृत शिक्षालयको खेलाडीबीच प्रतिस्पर्धा हुने देवकोटाले बताए । 
अभिषेक चर्चले जु फुटबल क्लब जुगेडीलाई हराउँदै फाईनल प्रवेश गरेको थियो भने प्रहरीले देशभक्त फुटबल क्लबलाई हराउँदै फाईनल प्रवेश गरेको थियो । प्रतियोगिताको विजेताले उपाधिसहित तीन लाख रुपैयाँ नगद तथा मेडल र प्रमाणपत्र पाउने एभरेष्ट क्लबका सल्लाहकार सन्तोष पनेरुले जानकारी दिए । त्यस्तै उपविजेता समूहले एक लाख ५० हजार रुपैयाँका साथै मेडल एवम् प्रमाणपत्र पाउने पनेरुले बताए । 
प्रतियोगिताको फाइनल खेल अवलोकन तथा समापनका लागि शनिबार उज्यालो नेपालका अभियान्ता पूर्व उर्जामन्त्री एवम् नेकपाका नेता जनार्दन शर्मा आउने आयोजकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस