पूर्वमन्त्री डिआर पौडेलको सम्झनामा अनेरास्ववियूको श्रद्धाञ्जली सभा

सफल खबर संवाददाता

शुक्रबार, ०६ असार २०७६, १५ : ०९
पूर्वमन्त्री डिआर पौडेलको सम्झनामा अनेरास्ववियूको श्रद्धाञ्जली सभा

काठमाडौं । सत्तारूढ नेकपा निकट अनेरास्ववियूले आफ्ना पूर्वअध्यक्ष एवम् पूर्वशिक्षामन्त्री धनिराम पौडेल (डिआर)को सम्झनामा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । पूर्वमन्त्री पौडेलको गत जेष्ठ ३१ गते चितवनको माडीस्थित आफ्नै निजी निवासमा हृदयघातका कारण निधन भएको थिय‍ो ।

आज राजधानीमा अनेरास्ववियू केन्द्रीय कमिटीद्वारा आयोजित श्रद्धाञ्जली सभामा नेकपा नेता योगेश भट्टराईले धनिराम पौडेलको निधनले पार्टी र आन्दोलनलाई अपुरणीय क्षति भएको बताउनुभयो । 

विद्यार्थी आन्दोलनमा सँगसँगै सहकार्य गरेको स्मरण गर्दै भट्टराईले भन्नुभयो ‘उहाँको निधनले पार्टीले एउटा असाध्यै निष्ठावान्, इमान्दार र वर्गप्रति दृढ नेता गुमाएको छ ।’ 

श्रद्धाञ्जली सभामा नेकपाका अर्का नेता लिलामणी पोखरेलले पौडेल अवसर पाएर पनि वेइमान नबनेको एउटा असल क्रान्तिकारी योद्धा भएको बताए । नेता पोखरेलले भन्नुभयो ‘उहाँ एक असाध्यै अध्ययनशील, क्षमतावान र कर्मठ नेताको  रुपमा विकास भइरहनुभएको थियोे ।’ 

कार्यक्रममा अनेरास्ववियू (क्रान्तिकारी) का पूर्वअध्यक्ष रमेश मल्लले स्वर्गीय पौडेल निष्ठा र इमानको पर्याय भएको बताए । अनेरास्ववियू संयोजक ऐन महरले पौडेल नेपालको सार्वजनिक शिक्षा रुपान्तरणको अग्लो अभियन्ता भएको स्मरण गरे । कार्यक्रममा अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले स्वर्गीय पौडेलको जन्मदेखि मृत्युुसम्मका विविध पक्षमा प्रकाश पार्नुभएको थियोे ।

प्रतिक्रिया दिनुहोस