काठमाडौंका मेयर–उपमेयर बीच बोलचालै बन्द

मेयर विधासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्कीबीच सार्वजनिक शौचालय निर्माण कार्यदल भंगपछि विवाद थप चर्किएको छ

सफल खबर संवाददाता

विहीबार, ०५ असार २०७६, ०७ : ४९
काठमाडौंका मेयर–उपमेयर बीच बोलचालै बन्द

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर–उपमेयरबीचको विवाद फेरि छताछुल्ल हुन थालेको छ । अलग राजनीतिक पार्टीका मेयर-उपमेयर रहेका कारण पनि निर्वाचन जितेर आए देखि नै कुनै न कुनै रुपमा विवाद गरिरहेका काठमाडौंका मेयर-उपमेयरका बीचमा फेरि अहिले नयाँ विवाद देखिएको हो ।  

सार्वजनिक शौचालय निर्माण, सञ्चालन र व्यवस्थापनका विषयमा अहिले मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्कीका वीचमा विवाद देखिएको हो । मेयर शाक्यले उपमेयर खड्गी नेतृत्वको कार्यदल भंग गरेपछि थप विवाद चर्किएको छ ।

केही महिना यता यी दुई बीच बोलचाल सम्म बन्द छ । वैशाख दोस्रो साता खुलामञ्चमा बनाइएका अवैध सटर भत्काउने विषयमा मेयर शाक्य र उपमेयर खड्गीबीच विवाद भएको थियो । त्यस अगाडी पनि रानीपोखरी निर्माणका विषयमा पनि शाक्य र खड्कीबीच विवाद भएको थियो । त्यसयता यी दुईबीच बोलचाल करिब बन्दकै अवस्थामा रहेको छ ।

गत ६ माघमा खड्गीको नेतृत्वमा अधिकार सम्पन्न कार्यदल गठन गरिएको थियो । तर, वैशाख तेस्रो साता बसेको कार्यपालिका बैठकबाट मेयर शाक्यले कार्यदल भंग गरेपछि दुई बीच चर्काे विवाद देखिएको छ । कार्यदलले तीन महिना लगाएर शौचालय निर्माण, सञ्चालन र व्यवस्थापनका विषयमा अध्ययन गरेको थियो । प्रतिवेदन नबुझ्दै मेयर शाक्यले शौचालय निर्माण, सञ्चालन र व्यवस्थापनको नेतृत्व आफैँले गर्ने भन्दै कार्यदल भंग गरेका थिए ।

काठमाडौं उपत्यकामा दुई सय ४२ सार्वजनिक शौचालय आवश्यक रहेको एक अध्ययन प्रतिवेदनले देखाएको थियो । महानगर क्षेत्रमा अहिले ५८ वटा सार्वजनिक शौचालय छन् । भएका शौचालयसमेत व्यवस्थित छैनन् । सार्वजनिक शौचालय निर्माण गर्न नसकेको भन्दै महानगरको आलोचना हुने गरेको छ । जसकाकारण शौचालय निर्माणका लागि महानगरपालिकाले खड्की नेतृत्वमा कार्यदल गठन गरेको थियो ।

‘पूर्ण अधिकार दिएर मेरो नेतृत्वमा कार्यदल गठन गरिएको थियो । तर, मेयर साबले किन हो, प्रतिवेदन नबुझ्दै कार्यदल भंग गरिदिनुभयो,’ उपमेयर खड्कीले भनिन्, ‘अहिलेसम्म हामीले धेरै काम गरिसक्ने थियौँ । तर, अहिले अड्किएको छ ।’ कार्यदलमा उपमेयर खड्गीसँगै १५ वडाका अध्यक्ष ईश्वरमान डंगोल र १८ का वडाध्यक्ष न्हुच्छेकाजी महर्जन सदस्य थिए ।

कार्यदल निर्माण गर्दा सम्भाव्यता अध्ययन गर्ने, कार्यविधि बनाउने र त्यसको कार्यान्वयनसमेत गर्न पाउने गरी अधिकार दिइएको थियो । मेयर शाक्यले भने यो विषयमा कुनै टिप्पणी सार्वजनिक गरेका छैनन । तर खड्कीले जुनसुकै काममा पनि राजनीतिक आग्रह –पूर्वाग्रह साध्ने र त्यही अनुसार मात्र काम गर्ने गरेका कारण उनको नेृतृत्वको कार्यदल भंग गरी आफैले कामको जिम्मेवारी लिएको शाक्यले आफु निकटस्थहरुसँग बताउन थालेका छन् ।

 

प्रतिक्रिया दिनुहोस