प्रधानमन्त्रीका परराष्ट सल्लाहकार ‘सुटुक्क’ कम्बोडिया

प्रधानमन्त्रीका परराष्ट सल्लाहकार राजन भटटराईको हिजोबाट शुरु भएको रहस्यमय कम्बोडिया भ्रमणलाई सरकारले गोप्य राखेको छ

सफल खबर संवाददाता

विहीबार, ०५ असार २०७६, ०७ : ३२
प्रधानमन्त्रीका परराष्ट सल्लाहकार ‘सुटुक्क’ कम्बोडिया

काठमाडौं । प्रधानमन्त्री केपी ओलीका परराष्ट सल्लाहकार राजन भटटराई सुटुक्क कम्बोडिया उडेका छन् । प्रधानमन्त्रीसँगै यूरोप भ्रमणबाट स्वदेश फर्केको तिन दिनमै उनी कम्बोडिया उडेका हुन् । उनको भ्रमणलाई सरकारले ‘गोप्य’ राखेको छ ।

यस अगाडी पनि उनी प्रधानमन्त्रीको कम्बोडिया भ्रमणका बेला त्यहाँ पुगेका थिए । प्रधानमन्त्री ओली एक महिना अगाडी मात्रै १३ देखि १५ मे (वैशाख ३० देखि जेठ १ सम्म) कम्बोडिया भ्रमणका बेला समेत भट्टराई सँगै थिए ।

महिना दिन नपुग्दै फेरि प्रधानमन्त्रीका परराष्ट सल्लाहकारलाई कम्बोडिया जानु पर्ने कारण के प¥यो ? उनको भ्रमण कति दिनको हुने भन्ने विषयमा पनि कतै केही खुलाईएको छैन । उनी हिजो (वुधबार) दिउँसो त्यसतर्फ उडेको वालुवाटार स्रोतले जनाएको छ ।

कुटनीतिक क्षेत्रमा प्रधानमन्त्रीको कम्बोडिया भ्रमणकै बेला पनि नेपालमा आलोचना भएको थियो । निरंकुश सरकार रहेको कम्बोडियामा प्रधानमन्त्रीले भ्रमणमा दिएको महत्व र गत वर्षको कात्तिक महिनामा काठमाडौंमा सम्पन्न ‘होली वाइन प्रकरण’मा जोडिएको कम्बोडियाका कारण सरकार निक्कै आलोचित बनेको थियो ।

विस्वस्त स्रोतका अनुसार, परराष्ट सल्लाहकार भट्टराई अहिले कम्बोडिया त्यही गत वर्ष कात्तिकमा नेपालमा सम्पन्न एसिया प्यासेफिक समितिका नाममा चिनिएको ‘होली वाइन प्रकरण’ को समिक्षा बैठकमा सहभागी हुन पुगेका हुन् ।

एसिया प्यासेफिक समितिको सह आयोजक नेपाल सरकारलाई बनाउने, सम्मेलनमा प्रधानमन्त्री देखि मन्त्रीहरुको सहभागिता र नेकपाका वरिष्ठ नेता माधव नेपालको अध्यक्षताको ब्यवस्थापनका लागि पनि त्यसबेला भट्टराईले नै भूमिका खेलेका थिए । सरकारी साधन स्रोतको दुरुपयोग गर्ने र सरकारी लेटर हेडमै सम्मेलनमा सहभागिताका लागि विभिन्न देशका अतिथिहरुलाई आमन्त्रण गर्ने काममा भट्टराई सक्रिय भएर लागेका थिए ।

त्यसपछि सत्तारुढ दल नेकपामा उक्त प्रकरणको चर्काे आलोचना भएको थियो । त्यस लगत्तै मंसिर २९ देखि पुस १३ सम्म बसेको नेकपा स्थायी समिति बैठकमा समेत उक्त सम्मेलन र सम्मेलनमा प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालको सहभागिता र क्रियाशिलताका विषयमा चर्काे आलोचना भएको थियो ।

अहिले उक्त सम्मेलनकै समिक्षा बैठक कम्बोडियामा बस्न लागेको र सम्मेलनमा सहभागिताका लागि उल्लेखनिय भूमिका खेलेको नेपाल सरकारको प्रतिनिधी सहभागि हुनु पर्ने निमन्त्रणा आएपछि भट्टराई सुटुक्क कम्बोडिया उडेका हुन् । त्यसबेला नेपालभित्र विवादित बनेको सम्मेलनको समिक्षा बैठकमा सहभागिताका लागि कम्बोडिया जान लागेको खुल्यो भने झनै विवादित हुने भएकाले सरकारले उनको भ्रमण गोप्य राखेको हो ।
 

प्रतिक्रिया दिनुहोस