सार्वजनिक समाहरोहमा मोही खाने संस्कारको विकास गर्दै शिवराम केसी, मोही मानव स्वास्थ्यका लागि लाभदायी

प्रकाश सिग्देल

सोमबार, ०२ असार २०७६, १९ : २५
सार्वजनिक समाहरोहमा मोही खाने संस्कारको विकास गर्दै शिवराम केसी, मोही मानव स्वास्थ्यका लागि लाभदायी

– प्रकाश सिग्देल
चितवन । पशुपालनको उर्वर भूमि चितवनमा तराई बोट्लर्स नेपाल लिमिटेडले हालिमुहाली गरिरहेको छ । चितवन दूध र दुग्धजन्य परिकारका लागि आत्मनिर्भर भैसकेको जिल्ला हो । तर यही जिल्लाका दुध उत्पादक किसानहरु दूध मोहीभन्दा धेरै तराई बोट्लर्स नेपाल लिमिटेडका उत्पादन कोकाकोला फेन्टा, स्प्राईट पिउने  गरेका छन् । आज भोलिका शहरीया युवायुवतीहरुले त मोही खानेलाई पाखेकै संज्ञा दिने गरेका छन् । केही वर्ष अगाडि चितवनका किसानलाई उत्साह प्रदान गर्न मोही खाने अभियानको थालनी भएको भएपनि अभियानले निरन्तरता पाउन भने सकेन ।

चितवनमा सरकारी कार्यालयबाटै मोही खाने संस्कारको विकास गर्नुपर्छ भनेर अभियान थाल्नेमा तत्कालिन प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह हुनुुहुन्थ्यो । आफू बाहिर जाँदा वा आफ्नो कार्यालयमा आउनेलाई पनि मोही खुवाएर स्वागत गर्ने बानीको थालनी सिंहले गर्नु भएको थियो । सिहं सरुवा भएपछि यो संस्कार चितवनबाट उहासँगै सरुवा भयो । चितवनका दूध उत्पादक किसानले सिंहलाई किसानमैत्रि प्रशासकका रुपमा मान्दै आएका थिए ।

सिंहले थालेको यो अभियान फेरी चितवनमा निरन्तरता पाउने सम्भावना देखिन थालेको छ । चितवनका लोकप्रिय व्यवसायी अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले मोही खाने संस्कारकै रुपमा विकास गर्ने अभियानको थालनी गर्नु भएको छ ।

भरतपुरको स्टार व्यांकुईट होटलमा आयोजित एक कार्यक्रममा उहाँले पेय पदार्थका रुपमा मोहीलाई विशेष प्राथमिकतामा राख्नु भएको थियो । किसान र पत्रकार समिलित कार्यक्रममा उहाँले अब किसानलाई प्रवर्धन गर्नकै लागि पनि किसानका उत्पादनको उपभोग गर्ने बानीको विकास गर्दै मानिसको स्वास्थ्यका लागि घातक मानिएका केमिकल हालेर उत्पादन भएका बहुराष्ट्रिय कम्पनिद्धारा उत्पादित उत्पादनलाई निरुत्साहित गर्दै लैजानु पर्ने बताउनु भयो ।  

दही मोही मानव स्वास्थ्यका लागि निकै उपयोगी हुने र यो सिधै किसानसँग जोडिएको विषय भएकाले मोहीको सेवनले किसान उत्साहित हुने र स्वास्थ्यमा पनि फाइदा पुग्ने उहाँको तर्क छ ।

नियमित मोही सेवनले शरीरमा हुने विभिन्न विषालु तत्वलाई निकालेर मानिसलाई स्वस्थ बनाउन ठूलो भूमिका खेल्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख बिक्कि राउतले बताउनु भयो । दूधबाट दही बन्दा विषेश प्रकारको किटाणु पैदा हुने र त्यो मोहीमा पनि रहने र त्यो किटाणु मानिसको पाचन प्रणालीलाई सवल बनाउन निकै उपयोगी हुने बताउँदै उहाँले मानव स्वास्थ्यका लागि मोहीको फाइदै फाइदा रहेको प्रतिक्रिया दिनुभयो ।

आयुर्वेदको एउटा ग्रन्थमा पनि, ‘नियमित मोही सेवन गर्ने व्यक्ति रोगी नहुने उल्लेख छ ।  स्वादको हिसावले मात्र नभई दही, मोही स्वस्थ रहन र विभिन्न किसिमका शारीरिक समस्या समाधान गर्न पनि त्यति नै उपयोगी मानिने कविराजहरु बताउँछन । बच्चा, गर्भवती महिला र वृद्धवृद्धाको हाडका लागि नभइ नहुने क्याल्सियम दही र मोहीमा पाइने र त्यसले हाडजोर्नीको रक्षामा भूमिका खेल्ने बताइन्छ । मोही पखाला रोक्नका लागि र कब्जियत खुलाउन पनि उपयोगी हुने कविराजहरु बताउँछन । विभिन्न अनुसन्धानहरुले दही र मोहीमा रहेका लाभदायक किटाणुले क्यान्सर उत्पन्न गर्ने किटाणुको सक्रियता घटाउँने देखाएको छ ।

प्रतिक्रिया दिनुहोस