चेल्सीलाई हराउँदै आर्सनल काराबाओ कपको फाइनलमा

एजेन्सी

विहीबार, ११ माघ २०७४, १० : ३०
चेल्सीलाई हराउँदै आर्सनल काराबाओ कपको फाइनलमा

लण्डन । चेल्सीलाई पराजित गर्दै काराबाओ कपको फाइनलमा पुगेपछि आर्सनलका प्रशिक्षक आर्सन वेङ्गरले टोली अब ‘स्पष्टता’ का साथ खेलिरहेको बताएका छन् ।

एलेक्सीस सान्चेजलाई म्यान्चेस्टर युनाइटेडलाई बिक्री गरेपछिको पहिलो खेलमा चिरप्रतिद्वन्द्वी चेल्सीलाई २–१ गोलअन्तरले पराजित गर्दै आसर्नल कप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

खेलमा अग्रता भने चेल्सीले लिएको थियो । एडिन हजार्डले खेलको सातौँ मिनेटमा नै चेल्सीलाई अग्रता दिलाएका थिए ।

तर, यो लामो समय टिक्न भने सकेन । खेलको १२ औँ मिनेटमा एन्टोनियो रुडिगरले आत्मघाती गोल गरेपछि खेल बराबरी भएको थियो ।

दोस्रो हाफमा ग्रानिट जाकाले गोल गर्दै आर्सनललाई जीत दिलाए । अब फाइनलमा आर्सनलले म्यान्चेस्टर सिटीको सामना गर्नेछ ।

पछिल्लो केही महिना आर्सनल खराब दौरबाट गुज्रिरहेको थियो । प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको सिटीभन्दा २३ अंकले पछि पर्दै छैटौँ स्थानमा खस्किएको थियो भने एफए कपमा च्याम्पियन्सिप टोली नटिङहम फरेस्टसँग पराजित हुँदै बाहिरिएको थियो । जीतपछि भने आर्सनल पछिल्लो पाँच वर्षमा चौथोँ उपाधिका लागि दाबेदार बनेको छ ।

प्रतिक्रिया दिनुहोस