आफ्नै घरेलु मैदानमा लेगानेससँग पराजित हुँदै बाहिरियो रियल म्याड्रिड

एजेन्सी

विहीबार, ११ माघ २०७४, १० : २२
आफ्नै घरेलु मैदानमा लेगानेससँग पराजित हुँदै बाहिरियो  रियल म्याड्रिड

म्याड्रिड । यो सिजन निकै कमजोर प्रदर्शन गरिरहेको रियल म्याड्रिड आफ्नै घरेलु मैदानमा लेगानेससँग पराजित हुँदै कोपा डेल रेबाट बाहिरिएको छ ।

युरोपियन च्याम्पियनले पहिलो लेगमा १–० को अग्रता बनाए पनि समग्रमा २–२ को बराबरी खेल्दै अवे गोलको आधारमा प्रतियोगिताबाट बाहिरिनुपरेको हो । बुधबार राती भएको खेलमा ह्याभियर एरासोले गोल गर्दै समग्रमा खेल बराबरी गरेका थिए ।

तर, करिम बेन्जेमाले गोल गर्दै रियललाई खेलमा बराबरी गर्नुका साथै समग्रमा पुनः अग्रता दिलाएका थिए । खेलको ५५ औँ मिनेटमा ब्राजिलियन मिडफिल्डर ग्याब्रियलले गोल गरे पछि अवे गोलको आधारमा लेगानेसले अर्को चरणको यात्रा तय गर्न सफल रह्यो ।

रियलले हिजोको खेलमा क्रिस्टियानो रोनाल्डो र गेराथ बेल दुवैलाई आराम दिए पनि सर्जियो रामोश, इस्को र बेन्जेमालाई टोलीमा समावेश गरेका थिए ।

कोपा डेल रेबाट बाहिरिएपछि ला लिगामा शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा १९ अंकले पछि परेको रियलले अब च्याम्पियन्स लिगमा जित्ने सम्भावना बाँकी रहेको छ ।

१२ पटकको युरोपियन च्याम्पियनले १४ फेब्रुअरीमा अन्तिम १६ को खेलमा पेरिस सेन्ट जर्मेनको सामना गर्दैछ । उता, भ्यालेन्सियाले आलाभेसलाई पेनाल्टीमा हराउँदै अर्को चरणमा प्रवेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस