छोटो स्कर्ट लगाउनेलाई ज्याला बढी

शुक्रबार, ३१ जेठ २०७६, २१ : २८
छोटो स्कर्ट लगाउनेलाई ज्याला बढी

काठमाडौँ । रुसको आलुमिनियम उत्पादक एउटा कम्पनी अहिले आलोचित भएको छ। उसले आफ्ना महिला कामदारमध्ये स्कर्ट लगाउनेलाई बढी ज्याला दिने घोषणा गरेको थियो। सामाजिक सञ्जालमा कम्पनीको कदमलाई घृणास्पद र लिंगवादी भनिएको छ। 

तर, ट्याटप्रोफ नामक कम्पनी आफ्नो घोषणामा अडिग छ। उसले जुन महिनाभरि छोटो स्कर्ट वा यस्तै खालका अन्य पहिरन लगाउने महिलाको ज्याला बढाउने बताएको छ। 
कम्पनीले ‘फेमिनिटी म्याराथन’ नामक अभियान चलाइरहेको छ। यसअनुसार महिला कामदारले निर्दिष्ट पहिरन लगाएबापत नियमित ज्यालामा प्रतिघण्टा सय रुबल (१ सय ७० रुपैयाँ) बढी पाउनेछन्। अतिरिक्त रकम प्राप्त गर्न महिला कामदारले घुँडाबाट तलतिर पाँच सेन्टिमिटरभन्दा कम लामो स्कर्ट लगाउनुपर्छ र प्रमाणका लागि कम्पनीलाई आफ्नो तस्बिर बुझाउनुपर्छ। 

कम्पनीको अनौठो योजनाले ट्वीटरमा रहेका महिलालाई आक्रोशित बनाएको छ। उनीहरूले कम्पनीको चर्काे आलोचना गरेका छन्। एक जना ट्वीटर प्रयोगकर्ताले लेखेकी छिन्, ‘धन्य हो, ट्याटप्रोफ रुसमा नारीपनको प्रतियोगिता चलाइरहेको छ। तर, खासमा भन्ने हो भने हाकिमहरूले महिला कामदारमाथि कुदृष्टि राखेका हुन्। यो शक्तिको दुरुपयोग र महिलाको शोषण हो।’ 

गोभोरिट मोस्कभा नामक रेडियोसँग कुराकानी गर्दै कम्पनीका प्रवक्ताले अभियान लिंगवादी नभएको र ६० भन्दा बढी महिला कामदारले यसमा भाग लिएको बताए। ‘हाम्रो कम्पनीका महिला कामदार प्यान्ट लगाउँछन्,’ प्रवक्ताले भने, ‘हाम्रो अभियानले उनीहरूलाई आफ्नो महिलापनबारे जागरुक बनाउनेछ। स्कर्ट लगाउँदा उनीहरूले नारीपनको सौन्दर्य महसुस गर्न सक्छन्।’ यसका साथै कम्पनीले अर्काे महिना नारीपनसम्बन्धी प्रतियोगिता गर्ने जनाइएको छ। 

कम्पनीको कर्पाेरेट कल्चर विभागकी कर्मचारी अनास्तासिया किरिलोभाले ‘बिजनेस अनलाइन’सँग भनिन्, ‘यो विचार हाम्रा सीईओ सेर्गेई राखोभबाट आएको हो। उनी चाहन्छन्, हरेक महिला कर्मचारीले आफ्नो महिलापन कायम राखून्।’ 

छोटो स्कर्टमार्फत महिला कर्मचारीको महिलापन कायम राख्न खोज्ने कम्पनीको सर्वत्र आलोचना भइरहेको छ। तर, कम्पनीका महिला कर्मचारी भने खुशी नै छन्। यसको कारण अतिरिक्त ज्यालाको आकर्षण भएको बताइएको छ।  सम्पूर्ण बाट 

प्रतिक्रिया दिनुहोस