विप्लवलाई झट्का : जिल्ला इन्चार्जहरुले नै छोड्न थाले साथ

दस्तावेज एकातिर गतिविधि अर्काेतिर हुन थालेपछि विप्लवको पार्टीभित्र तिब्र असन्तुष्टि

सफल खबर संवाददाता

विहीबार, ३० जेठ २०७६, १० : ११
विप्लवलाई झट्का : जिल्ला इन्चार्जहरुले नै छोड्न थाले साथ

काठमाडौं । पार्टी दस्तावेज एकातिर गतिविधि अर्काेतिर हुन थालेपछि प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव)को पार्टीका जिम्मेवार नेताहरुले नै पार्टी छोड्ने क्रम बढेको छ । रोल्पाको थवाङ महाधिवशेनले पारित गरेको राजनीतिक कार्यदिशा भन्दा अलग पार्टी ‘जर्वजस्त’ जनयुद्दको बाटोमा जान खोजेको भन्दै पार्टीभित्रै असन्तुष्टि बढेको छ । 
मध्यमवर्गलाई पनि साथ लिएर नयाँ प्रकारको युद्धको तयारी गर्नुपर्ने भन्दै विप्लवले वैज्ञानिक समाजवादको रणनीतिक लक्ष्य प्राप्तीका लागि एकीकृत जनक्रान्तिको कार्यदिशा अवलम्वन गर्ने नीति थवाङ महाधिवशेनबाट पारित गरेको थियो । तर उक्त कार्यदिशाले जनयुद्धको बाटोमा जाने कुनै कार्यदिशा पारित नगरेपनि क्रमशः पार्टी त्यस दिशातर्फ उन्मुख हुन थालेको भन्दै पार्टीभित्र तिब्र असन्तुष्टि बढेको छ । 

गाउँ पनि नछोडने, सहरपनि नछोडने , मध्यमवर्गको दायरा फराकिलो भएकोले क्रान्तिको भरपर्दाे आधार स्रोत यस अगाडी मध्यमवर्ग कहिल्यै नदेखिएपनि अबको क्रान्ति त्यही मध्यमवर्गको भरपर्दाे आधारका रुपमा अगाडी बढ्ने राजनीतिक निष्कर्ष विप्लवको पार्टीले थवाङ महाधिवशेनबाट निकालेको थियो । 
तर अहिले फौजी आक्रमणका रुपमा २०५२ सालमा तत्कालिन माओवादीले गरेको जस्तो सिधै सुरक्षा फौजमाथी आक्रमण नगरीहालेपनि अन्य गतिविधि भने उस्तै देखिएको भन्दै नेता–कार्यकर्ताहरुले असन्तुष्टि जनाउन थालेका छन् । 

सुरक्षा निकायले गिरफ्तार नगर्दासम्म पार्टीभित्र सकभर बहस गर्ने तर त्यो सम्भव नभई पक्राउ परेमा भने पार्टी नै छोड्ने क्रम विप्लवको पार्टीमा तिब्र बनेर गएको छ । पछिल्लो पटक मात्र पनि उसको इलाम जिल्ला इन्चार्ज विजय दर्नाल, रौतहट जिल्ला इन्चार्ज शंकर अधिकारी, जनस्वास्थ्यकर्मी संघका नेता तथा विप्लव पार्टीका मध्यकमाण्ड सदस्य डम्बर रावल, मध्यकमाण्डकै सदस्य सुबास अधिकारी लगायतले पार्टी छोडेका छन् । 

उनीहरुले पार्टी दस्तावेज भन्दा गतिविधि अलग हुन थालेपछि पक्राउ पछि पार्टी छोडेका हुन । यी मध्ये केही नेताहरु सत्तारुढ दल नेकपा प्रवेश पनि गरिसकेका छन भनेकेही प्रवेशका लागि छलफलका क्रममा छन् । त्यस्तै, सप्तरीको ३ नम्बर एरिया इन्चार्ज ’रन्जित’ भन्ने तेजनारायण यादव लगायतले पनि पार्टी छोडेका छन् । २०७३ फागुनमा रोल्पामा भएको आठौं महाधिवेशनले उक्त पार्टीको  ६१ सदस्यीय केन्द्रीय समिति बनाएको थियो । तर दुई वर्ष नबित्दै केन्द्रीय समिति ४० मा झरिसकेको छ । 
त्यस बेलाका पोलिटब्यूरो सदस्य पदम राई (विकास), केन्द्रीय सदस्य शरदसिंह भण्डारी, झकबहादुर मल्ल ‘सुदीप’, राजेन्द्र कार्की ‘नवीन’, टेकबहादुर बलम्पाखी, जीवन खड्का ‘गगन’, महेश केसी ‘पारसमणि’ लगायत नेताहरु सत्तारूढ नेकपामा प्रवेश गरिसकेका छन् । 

वयोवृद्ध नेता चित्रबहादुर आले ‘पवन’, देवीदत्त पाण्डे, हेमराज भट्टराई, मंगल विश्वकर्मा, सम्झना घर्तीलगायत नेताहरु निष्क्रिय बसेका छन् । तत्कालिन कोसी ब्युरो इन्चार्ज किरण राई, महाकाली ब्युरो इन्चार्ज सबिता सिंह र नेता नारायण महर्जन पनि पार्टी राजनीतिमा निष्क्रिय बनेका छन् । बाँकी रहेका ४० जना केन्द्रीय समितिका बाट पनि स्थायी समिति सदस्य हेमन्तप्रकाश वली ‘सुदर्शन’, पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’, भरत वम, केन्द्रीय सदस्यद्वय बसन्त श्रेष्ठ ‘प्रज्ज्वलन’ र बन्धु चन्द, चुडामणि ओली (आर्दश), चन्द्रवहादुर खड्का (अशल) लगायत समातिएका छन् ।

प्रतिक्रिया दिनुहोस