प्रधानमन्त्री फर्केपछि मन्त्रीपरिषद हेरफेर हुने !

अहिलेका एक तिहाई मन्त्रीहरु बिदाई गरेर तिनका ठाँउमा नयाँ मन्त्री ल्याउने आन्तरिक तयारी

सफल खबर संवाददाता

विहीबार, ३० जेठ २०७६, ०७ : ४०
प्रधानमन्त्री फर्केपछि मन्त्रीपरिषद हेरफेर हुने !

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले यूरोप भ्रमणबाट फर्केलगत्तै मन्त्रीपरिषद् हेरफेर गर्ने भएका छन् । उनी निकट एक नेताका अनुसार, त्यसका लागि प्रधानमन्त्रीले आन्तरिक तयारी पनि थालिसकेका छन् । 

पार्टीका केन्द्रीय नेताहरुको कार्यविभाजन अन्र्तगत जिल्ला इन्चार्ज चयनमा देखिएको विवाद लाई अब एकीकरणका अन्य कामसँगै प्याकेजमै टुग्याउने दुई अध्यक्षबीच सहमति बनाएर यूरोप भ्रमणमा निस्केका ओलीले सदनले आर्थिक वर्ष २०७६/०७७ को बजेट वक्तब्य पारित गरेसँगै मन्त्रीपरिषद हेरफेर गर्ने तयारी थालेका हुन् । 

स्वीजरल्यान्ड, वेलायत हुदै यतिबेला फ्रान्समा रहेका ओली असार १ मा स्वदेश फर्किने कार्यक्रम छ । संसदमा अहिले बजेटको मन्त्रालयगत बजेटमा रहेर छलफल चलिरहेको छ । यो छलफल सकिने बितिकै संसदले बजेट वक्तब्य पारितका लागि छलफल अगाडी बढाउने छ । संसद सचिवालय स्रोतका अनुसार, सम्भवत ३ असारसम्म वजेट संसदबाट पारित गराउने कार्यसूचि संसदसँग छ । 

बजेटमाथी सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ स्वदेश फर्केपछि प्रधानमन्त्रीले संसदमा दिने र त्यसपछि बजेट पारित गर्ने सरकारको तयारी छ । 
यसो गर्दा ३ असारसम्म संसदले बजेट पारित गरिसक्ने अनुमान लगाईएको छ । त्यसपछि भने प्रधानमन्त्री मन्त्रिपरिषद हेरफेरमा लाग्ने उनी निकट एक स्थायी समिति सदस्यले सफलखबरलाई बताए । 
‘बजेट पारित हुन दिउँ, त्यसपछि मन्त्रीपरिषद हेरफेर गरौं भन्नेमा प्रधानमन्त्री हुनुहुन्छ,’ ति नेताले सफलखबरसँग भने,–‘ढिलोमा असार तेश्रो सातासम्म मन्त्रिपरिषद हेरफेर भईसक्छ ।’

ऐनका अनुसार, अहिले मन्त्रिपरिषदमा रहेका मन्त्रीहरुमध्येबाट कम्तीमा एक तिहाई मन्त्रीहरु अब मन्त्रीपरिषद् हेरफेर हुँदा फेरिने छन् । अहिले २४ मन्त्री छन् । पर्यटन मन्त्रालयसमेत तत्कालिन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा ताप्लेजुङमा निधन भएपछि प्रधानमन्त्री स्वंमले सम्हाल्दै आएका छन् । 

को को फालिएलान् ?
प्रधानमन्त्रीले अहिले मन्त्री रहेका २४ मध्ये कम्तीमा ७ जना मन्त्रीहरु हेरफेर गर्ने तयारी गरेका छन् । प्रधानमन्त्रीको स्पिरिट अनुसार काम गर्न नसकेका मन्त्रीहरुलाई उनले हेरफेर गर्ने पहिलो सूचिमा रहेका छन् । ‘कतिपय मन्त्रीहरुले प्रधानमन्त्रीको स्पिरिट बुभ्mन सक्नुभएन, त्यस्ता एक तिहाई मन्त्रीहरु अब मन्त्रिपरिषद हेरफेर गर्दा क्याविनेटमा रहनु हुदैन । उहाँहरुको ठाँउमा नयाँ अनुहारका मन्त्रीहरु आउनुहुनेछ, कतिपय अहिले रहेकालाई पनि मन्त्रालय हेरफेर गरेर निरन्तरता समेत दिन सक्नुहुनेछ,’ ति नेताले भने,–‘को को मन्त्री फालिन्छन, को कोले अर्काे मन्त्रालयको जिम्मेवारी पाउछन् भन्ने निर्णय प्रधानमन्त्रीले आन्तरिक रुपमा स्वदेश हुँदै प्रारम्भिक तयारी गरिसक्नु भएको छ ।’

उनले प्रधानमन्त्री पार्टीमा गोपनियता राख्न माहिर नेता रहेको भन्दै यस विषयमा प्रधानमन्त्रीले को फालिने को रहने भन्नेमा सूचना नचुहाएको समेत बताए । ‘उहाँको आफ्नो स्वविबेकी अधिकारको कुरा हो, को राख्ने फाल्ने भन्नेमा’ उनले थपे,–‘प्रधानमन्त्रीले सूचना गोप्य राख्न रुचाउनुहुन्छ, चुहाउनु हुन्न ।’

स्रोतका अनुसार प्रधानमन्त्रीले अहिले तत्कालिन माओवादी नेताहरुले जिम्मेवारी पाएका मन्त्रालयका काममा त्यक्ति विघन चित्त बुझाईरहेका छैनन । खासगरी उनले कृषि, बन, खानेपानी लगायत मन्त्रालयको काममा चित्त नबुझाईरहेको ओली निकट स्रोतले बताएको छ । 

मन्त्रीपरिषद हेरफेर प्रधानमन्त्री ओलीको स्वविवेकी अधिकार भएपनि पार्टीका अर्का अध्यक्ष प्रचण्डसँगको परामर्श बिना उनले मन्त्रीपरिषद् हेरफेर गर्न सक्ने अवस्था भने छैन । 
उनले यस विषयमा प्रचण्डसँग यस अगाडी अनौपचारिक रुपमा हेरफेर गर्नुपर्छकी क्या हो भनेर प्रारम्भिक छलफल गरेपनि कुन कुन मन्त्रालयमा कसरी हेरफेर गर्ने भन्नेमा छलफल गरिसकेका छैनन । ओली निकट ति नेताले भने, अब प्रधानमन्त्री स्वदेश फर्केसँगै अध्यक्ष प्रचण्डसँग प्रधानमन्त्रीले छलफल गर्ने योजना बनाएका छन् । 

प्रतिक्रिया दिनुहोस