सांसदलाई ल्यापटप बाड्न साढे ३ करोड खर्चिदै

बजेट रकमान्तर गरेर एक महिनामै ३ सय ३४ सांसदलाई ल्यापटप, छुटै खर्चमा चलाउन पनि सिकाइने

सफल खबर संवाददाता

बुधबार, २९ जेठ २०७६, ०८ : ३२
सांसदलाई ल्यापटप बाड्न साढे ३ करोड खर्चिदै

काठमाडौं । संघीय संसद सचिवालयले अर्थ मन्त्रालयको सहमतिमा बजेट रकमान्तर गरेर सांसदहरुलाई ल्यापटप बाड्ने तयारी गरेको छ । प्रतिनिधीसभा र राष्टिय सभाका ३ सय ३४ सांसदलाई नै ल्यापटप बाड्ने गरी संसद सचिवालयले बोलपत्र आह्रावन समेत गरिसकेको छ । झण्डै साढे ३ करोड रुपैया खर्चेर सांसदहरुलाई ल्यापटप बाड्ने सचिवालयले तयारी गरेपछि त्यसको चौतर्फी बिरोध शुरु भएको छ ।

सांसदहरुलाई पेपरलेस र सूचना प्रविधिमैत्री बनाउन सचिवालयले अत्याधुनिक ल्यापटप दिन खोजेपछि त्यसको सर्वत्र आलोचना हुन थालेको हो । सांसदहरुलाई निर्वाचन क्षेत्रका लागि बजेट बक्तब्यमार्फत ६ करोड दिएको विरोध सेलाउन नपाउँदै प्रत्यके सांसदलाई राज्य कोषबाटै ल्यापटप दिन लागेको समाचार आएपछि चर्काे आलोचना शुरु भएको हो ।

प्रतिपक्षी मात्रै होइन, सत्तारुढ दलका नेता तथा केही सांसदहरुले पनि सचिवालयको यस्तो तयारीको बिरोध गरेका छन् । सत्तारुढ दल नेकपाका स्थायी समिति सदस्य तथा सांसद भीम रावलले सांसद आफैले किनेर चलाउदा हुने तर राज्यले खर्च गरेर ल्यापटप सांसदलाई दिन नहुने बताएका छन् । ‘सांसदलाई ल्यापटप बा्डने काम नहोस, ल्यापटप चलाउन चाहनेले स्वंयम ब्यवस्था गर्नु उचित हुन्छ । त्यस्तो गर्न सांसदले सक्छन् ।’ नेता रावलले भनेका छन् ।

त्यस्तै काग्रेस नेता तथा पूर्व सांसद रामहरी खतिवडाले सांसदलाई ल्यापटप वितरण गर्ने सचिवालयको यस्तो तयारीको चर्काे आलोचना गरेका छन् । ‘हाम्रा माननीय ज्यूहरु लाई ६ करोडले पुगेन, अब ३३४ ल्यापटप । अनि एक घर एक पजेरो , घरमा एक सहयोगी र सिंहदरबारमा दिउसो एक आराम कक्ष थकान मार्न, सरकारले ब्यवस्थापन गरोस । देशमा समृद्धि आउने छ । गरिबि अन्त्य हुनेछ । अनि गाउ गाउमा जनता सम्पन्न हुनेछन् । जय ओली सरकार ।’ खतिवडाले समाजिक सन्जालमा टिप्पणी गरेका छन् ।

संसद सचिवालयले आर्थिक वर्षको अन्त्यमा अर्थ मन्त्रालयको सहमतिमा बजेट रकमान्तर गरी ल्यापटप गरिद प्रक्रिया अघि बढाईसकेको छ । सचिवालयले प्रतिनिधीसभाका २ सय ७५ र राष्टिय सभाका ५९ सांसदका लागि ल्यापटप खरिद गर्न १९ जेठमा बोलपत्र समेत आह्रवान गरिसकेको छ । बोलपत्रबाट छनौट हुने प्रस्तावक कम्पनीले एक महिनाभित्रै ३ सय ३४ ल्यापटप उपलब्ध गराउने सचिवालय स्रोतले जानकारी दियो ।  राज्यकोषबाट करिब साढे ३ करोड रुपैया खर्च गरेर सांसदलाई ल्यापटप दिन लागिएको हो ।  सबै सांसदलाई ल्यापटप उपलब्ध गराईसकेपछि सचिवालयको पेपर, प्रिन्ट र फोटोकपीका लागि हुने खर्च कटौती हुने सचिवालय स्रोतको दाबी छ । ‘सांसदले आफनो प्रस्ताव र टिपोट ल्यापटमै तयार गर्नेछन्, आफुलाई चाहिने डकुमेन्टसमेत त्यसैमा राख्नेछन,’ सचिवालय स्रोतले भन्यो, –‘संसादबीच प्रस्ताव र डकुमेन्टको आदानप्रदान पनि त्यसैबाट हुनेछ ।’ 

सांसदलाई  यसरी दिन लागिएको ल्यापटप पहिलो पटक हो । ल्यापटप मात्र दिने छैन सचिवालयले उनीहरुलाई अर्काे छुटै शीर्षकमा बजेट खर्चेर ल्यापटप चलाउन पनि सिकाउने योजना बनाएको छ । सचिवालयले क्षमता अभिवृद्धि शीर्षकमा रहेको बजेटलाई सांसदलाई तालिम दिने तयारी गरेको छ । ल्यापटप चलाउन नजान्ने सांसदको संख्या ठूलो रहेको सचिवालयको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस