माडिमा जँगली बँदेलको मासुको खुल्ला रुपमै कारोवार, सामाजिक अगुवाहरु नै बँदेलको मासु खान सोखिन

प्रकाश सिग्देल

मंगलबार, २८ जेठ २०७६, १९ : ३५
माडिमा जँगली बँदेलको मासुको खुल्ला रुपमै कारोवार, सामाजिक अगुवाहरु नै बँदेलको मासु खान सोखिन

चितवन । माडि नगरपालिका भित्रका आफूलाई समाजसेवि र अगुवा भन्नेहरुले  बँदेलको मासु लुकी छिपि खाने गरेको भेटिएको छ । जँगली जनावरका रुपमा रहेको बँदेलको मासु खान प्रतिबन्ध लगाइएको छ । चितवन निकुञ्जमा बँदेलको संख्या बढि हुने र त्यही बँदेल वस्ती तथा बारिमा छिरेपछि तस्करहरुले मारी मासुको रुपमा विक्री गर्ने गरेका समाचारहरु बेलाबेलामा आइरहेका हुन्थे । तर निकञ्जसँगै जोडिएको माडि नगरपालिकाका ठुलाबडाहरुले नै बँदेलको खुल्लारुपमै मासु खाने गरेको यस पटक प्रमाणसहित नै भेटिएको हो । 

घरेलु तथा साना उद्योग कार्यालय चितवनले गरेको संयुत्त बजार अनुगमनका क्रममा माडि बसन्तपुर बजारको न्यु चितवन कोल्ड स्र्टोसमा अनुगमन गर्दा ५ केजि बँदेलकोे मासु पलास्टिकमा पोका बनाएर फ्रिजमा राखिएको भेटिएको हो । अनुगमन टोलिले मासु बिग्रीएको शंका गरेर नष्ट गर्न खोज्दा स्र्टोसका सञ्चालक हरिबहादुर ज्ञाद्रिसले घरबेटी भागिरथ बस्यालले १ महिना अगाडि ८ पोका बँदेलको मासु राखिदिनु भनेर दिएको र केही पोका लगेपनि बाँकि ५ पोका अझैसम्म नलगेकाले फ्रिजमै रहिरहेको बताउनु भयो । आफूले निकुञ्जका आर्मीहरु आउँछन् मासु नराख्नु भनेर पटक पटकभन्दा पनि उहाँले नमानेकोले  मासु यसै रहिरहेको उहाँले बताउनु भयो । अनुगमन टोलिका संयोजक शुर्दशन पौडेलले मासु पसलैबाट भागिरथ बस्याललाई फोन गरी मासु नष्ट गरिदिने बताएपछि बस्यालले मासु लिन भन्दै तत्कालै आफनो प्रतिनिधि पठाएका थिए । टोलिले मासु नष्ट गर्ने बताएपनि पछि मासु नष्ट गर्न नमिल्नेभन्दै मासु फ्रिजमै छाडेर फर्किएको थियो । भागिरथ बस्याल रेडक्रस बगौडा साखा अध्यक्ष भएको बताइएको छ । समाजका विशिष्टहरुले नै यसरी लुकि छिपि बँदेलको मासु खानु र स्थानीय प्रहरी प्रशासन पनि त्यसमा चनाखो बन्न नसक्नु आफैमा दुखद बिषय हो ।

माडिमा रहेको प्रहरी प्रशासन पनि त्यस्ता विषयमा उदार बनिदिँदा माडिमा पहुचवालाहरुले जँगली जनावर मार्ने र मासु खाने क्रम बढेको केही स्थानीयहरुले बताएका छन् । अनुगमन टोलिमा ईलाका प्रहरी कार्यालय माडिका प्रतिनिधिहरु पनि सहभागि रहेका थिए । तर मासु नियन्त्रणमा लिने र नष्ट गर्ने विषयमा कसैले पनि निर्णय गर्न नसकेपछि अन्तत मासु फ्रिजमै छाडेर टोलि फर्किएको थियो ।  

प्रतिक्रिया दिनुहोस