चितवन च्याम्पियनसिपमा जु फुटबल क्लब क्वाटर फाइनल प्रवेश

सफल खबर संवाददाता

सोमबार, २७ जेठ २०७६, १९ : ०१
चितवन च्याम्पियनसिपमा जु फुटबल क्लब क्वाटर फाइनल प्रवेश

चितवन । भरतपुरको जुनियर प्रहरी अधिकृत शिक्षालयमा जारी पाँचौँ चितवन च्याम्पियनसिपअन्तर्गत आज सोमबारको खेलमा जु फुटबल क्लब जुगेडी विजयी भएको छ । जु फुटबल क्लबले ६–३ गोल अन्तरले सशस्त्र प्रहरी बलको एपीएफ क्लब भण्डारालाई पाखा लगाएर क्वाटर फाइनल प्रवेश गरेको हो । 

आजको खेलमा जु फुटबल क्लबका तर्फबाट जितेस गुरुङले ह्याट्रिक गर्दै टिमलाई विजय पथमा डोहो¥याएका थिए । जु कै तर्फबाट विजय श्रेष्ठले दुई तथा सुशील लामाले एक गोल गरेका प्रतियोगिताको आयोजक एभरेष्ट क्लबका सचिव विकास कोइरालाले जानकारी दिए । सशस्त्र प्रहरी बलका तर्फबाट अभिषेक भुजेलले दुई तथा अमित धिमालले एक गोल गरेका कोइरालाले जानकारी दिए । 

आजको प्रतियोगितामा जु फुटबल क्लबका जितेस गुरुङ म्यान अफ दी म्याच घोषित भएका छन् । उनलाई उद्योग वाणिज्य संघ चितवनका निवर्तमान वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठले ट्रफी प्रदान गरेका कोइरालाले बताए । त्यस्तै टिकट काटेर फुटबल अवलोकन गरेका भरतपुर ६ का विष्णु मगरले लक्की ड्र मार्फत मोबाइल फोन पुरस्कार जितेका कोइरालाले जानकारी दिए । जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरको खेलमैदानमा जारी फुटबल प्रतियोगितामा हरेक दिन लक्की ड्र मार्फत दर्शकलाई मोबाइल फोन पुरस्कार प्रदान गरिदै आएको छ । 

प्रतियोगिता अन्तर्गत भोलि मंगलबार हर्दी युवा समाज भण्डारा र भैरव स्पोर्टस् क्लब नवलपरासीबीच प्रतिस्पर्धा हुने आयोजक एभरेष्ट क्लबका अध्यक्ष अशोक देवकोटाले जानकारी दिए । ‘युवाहरुको बाटो कुलत र दुव्र्यसन होइन, चेतना समाज विकास र राष्ट्र निर्माण हो’ भन्ने नाराका साथ आयोजना गरिएको पाँचौँ चितवन च्याम्पियनसिपमा आठ वटा स्थानीय सहित १६ टिम सहभागी भएका देवकोटाले बताए । प्रतियोगिताको विजेताले उपाधिसहित तीन लाख रुपैयाँ नगद तथा मेडल र प्रमाणपत्र पाउने देवकोटाले जानकारी दिए । 

प्रतियोगिताको उपविजेताले एक लाख ५० हजार रुपैयाँका साथै मेडल एवम् प्रमाणपत्र पाउनेछ भने तेस्रो हुने समूहले ५० हजार रुपैयाँका साथै मेडल एवम् प्रमाणपत्र पुरस्कार स्वरुप प्राप्त गर्ने देवकोटाको भनाइ छ । सो प्रतियोगितामा बेस्ट डिफेन्स, बेस्ट मिड फिल्डर, उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई १०÷१० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने एभरेष्ट क्लबका सल्लाहकार सन्तोष पनेरुले जानकारी दिए । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद २० हजार रुपैयाँ प्रदान गरिने पनेरुले बताए ।

असार ७ गतेसम्म भरतपुरको जुनियर प्रहरी अधिकृत शिक्षालयमा हुने प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा हनामी इन्टरनेशनल एजुकेशन, सह–प्रायोजकको रुपमा अल्फाबिटा चितवन र स्पोर्टस् वेयर क्लेम रहेका छन् । प्रतियोगिताको दोस्रो पुरस्कार प्रायोजक ध्रुव बजार व्यवस्थापन समिति तथा तेस्रो पुरस्कारको प्रायोजन ग्लोबल स्टार इन्जिनीयरिङ कन्सल्टेन्सीले गरेको छ ।

प्रतियोगिताको उत्कृष्ट खलाडी प्रायोजक मनकामना अस्पताल प्रालि, टिकट प्रायोजक ग्रेस इन्टरनेशनल एजुकेशन तथा सहयोगी संस्थाको रुपमा पुष्पाञ्जली अस्पताल प्रालि तथा नेपाल पोलिटेक्निक इन्स्टिच्युट रहेका छन् ।
प्रतियोगिता अन्तर्गत पुरस्कारका लागि पाँच लाख ६० हजार रुपैयाँ छुट्याइएको छ भने प्रतियोगितामा सहभागी हुने सबै टिमका लागि प्रति खेल पाँच हजार रुपैयाँका दरले यातायात खर्च प्रदान गरिने छ । फिफा नियमअनुसार खेलाइने सो प्रतियोगिता अवलोकनका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । 
 

प्रतिक्रिया दिनुहोस