कति छ सत्तारुढ दल नेकपाको चल – अचल सम्पत्ति ?

नेकपासँग काठमाडौंमा मात्रै भब्य ५ ओटा भवन र भारतको उत्तमनगरमा समेत करोडौं मूल्य पर्ने जग्गा छ

सफल खबर संवाददाता

आइतबार, २६ जेठ २०७६, ०७ : १३
कति छ सत्तारुढ दल नेकपाको चल – अचल सम्पत्ति ?

काठमाडौं । झण्डै ५५ वर्षसम्म फरक फरक स्कुलिङबाट अलग अलग पार्टी सञ्चालन गरेका तत्कालिन एमाले र माओवादी केन्द्र एक भएपछि अहिले देशभरका पार्टीका सम्पत्तिहरु एकत्रित गर्ने अभियान नेकपामा चलेको छ । केन्द्रले प्रदेश कमिटिलाई जिल्ला जिल्ला बाट तत्कालिन दुबै पार्टीका चल अचल सम्पत्तिको विवरण संकलन गरी केन्द्रीय कार्यालयमा पठाउन आन्तरिक सर्कुलर गरेकै थुप्रै समय भईसकेको छ ।

प्रदेश कमिटिहरुले केन्द्रलाई सम्पत्ति विवरण वुझाई नहालेपनि विवरण संकलनका कामलाई भने तिव्र बनाईरहेका छन् । केन्द्रमा खातापाता एउटै बनाईनसकेका तत्कालिन दुबै पार्टीले सांसदहरुसँगको लेवि समेत अलग अलग रुपमा नै उठाईरहेका छन् ।

पार्टी सदस्यता वापतको नविकरण शुल्क पनि उसले उठाउन सकिरहेको छैन । केन्द्र देखि तल्लो तहसम्मको एकता प्रक्रियामा भएको विलम्वका कारण उसले सदस्यहरुबाट लेवि उठाउन नसकिरहेको हो । यद्यपी महिनामा मात्रै झण्डै ८ लाख पार्टी सदस्यबाट करोडौं पैसा नेकपाको उठने देखिन्छ । तर त्यसरी अभियानकै रुपमा सदस्यता बापतको लेवि उठाउन नेकपाले अहिले सहज रुपमा सकिरहेको छैन । तैपनि नेकपाको पारम्भिक विवरण अनुसार झण्डै अलच सम्पत्ति मात्रै पनि नेकपासँग तीन अर्ब बढी रहेको देखिएको छ ।

देशभर तत्कालिन दुवै पार्टीका जमिन, भवन, कार्यालय आदिको चलनचल्ती मूल्य तीन अर्बभन्दा बढी हुने आकंलन गरिएको केन्द्रीय कार्यालयका एक कर्मचारीले बताए । नेकपासँग काठमाडौंमा मात्रै करोडौं मूल्यका ५ ओटा भवन छन् भने भारतको उत्तमनगरमा समेत एक करोडभन्दा बढी मूल्य पर्ने जग्गा छ ।

चलअचल सम्पत्तिको अहिले लगत संकलन गर्ने र तल्लो तहसम्म पार्टी एकता भएसँगै त्यसलाई नेकपाको नाममा स्थानान्तरणको काम गर्ने काम भईरहेको नेताहरुले बताएका छन् । सूदुरपश्चिम प्रदेशका नेकपा अध्यक्ष कर्ण थापाले पार्टी निर्देशन अनुसार तत्कालिन दुवै पार्टीका चल अचल सम्पत्तिको विवरण संकलन गर्ने र ति सम्पत्तिहरुलाई पार्टीको नाममा (नेकपा) स्थानान्तरण गर्ने काम भईरहेको बताए ।

नेकपा केन्द्रीय कार्यालयमा अहिलेसम्म मोटामोटी प्राप्त भएको विवरण अनुसार, काठमाडौं उपत्यकाभित्रै नेकपाका ठूला भवन, कार्यालय र जग्गा छन् । पेरिसडाँडामा पूर्वमाओवादीको मजदुर संगठनको नाममा रहेको २ रोपनी जग्गामा बनेको दुईवटा भवन, पूर्वएमालेको बल्खुमा नौ रोपनी एक आना जग्गा र त्यसमा रहेको भूकम्पले भत्काएको भवन, पुतलीसडकमा मनमोहन मजदुर भवनको नाममा जिफन्टको कार्यालय रहेको जग्गा र भवन, ललितपुर च्यासलमा तुल्सीलाल स्मृति प्रतिष्ठान भवन र काठमाडौं रानीबारीमा पुष्पलाल प्रतिष्ठानको नाममा रहेको भवन अचल सम्पत्तिका रुपमा छन् ।

तत्कालिन एमाले तर्फको सम्पत्ति विवरणको लागत ब्यवस्थित रुपमा राखिएको भएपनि माओवादीतर्फको ब्यवस्थित नदेखिएको कारण सम्पत्ति विवरणको लागत राख्न अप्ठ्यारो परिरहेको केन्द्रीय कार्यालयका एक सदस्यले बताए ।

पूर्वएमालेले भने तीन वर्षअघि पार्टी प्रचार विभागले युवा संघका तत्कालीन महासचिव निरज आचार्यको नेतृत्वमा सम्पत्तिको लगत संकलनको काम गरेको थियो । उक्त विवरण त्यसबेलाको एमालेको मुखपत्र ‘नवयुग’ले समेत प्रकाशित गरेको थियो ।

‘केन्द्रीय प्रचार विभागको आग्रहमा दुई महिनाजति लगाएर मैले सम्पत्ति विवरणको लगत संकलन गरेको थिएँ, त्यो नै अहिलेसम्म पार्टीको आधिकारिक सम्पत्ति विवरण हो,’ नेकपा केन्द्रीय सदस्य समेत रहेका आचार्यले सफलखबरसँग भने, ‘त्यसबेलाको किनबेचको मूल्यसहित हामीले पार्टीको सम्पत्ति विवरण तयार पारेका थियौं ।’

तत्कालीन एमालेका ६६ जिल्ला कमिटीसँग आफ्नै भवन छन् । कतिपय नगर–गाउँ कमिटीका पनि आफ्नै भवन छन् । उसको भारतको नयाँदिल्लीस्थित उत्तमनगरमा समेत १ करोडभन्दा बढी मूल्यको जग्गा छ । पार्टीको भारत प्रवास कमिटीले खरिद गरेको उक्त जग्गा अहिले प्रवासमा काम गर्ने तीन नेताका नाममा रहेको तथ्यांक केन्द्रीय कार्यालयसँग छ ।

कैलालीको अत्तरियामा रहेको जग्गा भने नेकपाले बिक्री गर्ने योजना बनाएको छ । करिब ४ करोड मूल्यमा उक्त स्थानमा रहेको जग्गा बिक्री गरेर सुदुरपश्चिम प्रदेशको व्यवस्थित कार्यालय बनाउने योजनामा नेकपा रहेको  प्रदेश अध्यक्ष कर्णबहादुर थापाले बताए । ‘अत्तरियाको जग्गा बिक्री गरेर भव्य र व्यवस्थित प्रदेश कार्यालय बनाउने गरी बिक्रीको तयारी थालिएको छ’, थापाले भने ।

अन्य क्षेत्रको पनि लागत संकलन कार्य भईरहेको र स्थानिय तहसम्मको एकता टुंिगएसँगै सम्पत्ति विवरणको सम्पूर्ण विवरण केन्द्रीय कार्यालयमा आउने नेकपा नेताहरुले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस