नेकपामा जहिल्यै प्रचण्डको भर

ओली –नेपालको गुटगत विवादमा जहिल्यै प्रचण्डले ल्याउने मध्यमार्गी प्रस्ताव समाधानको अचुक सूत्र बन्दै

सफल खबर संवाददाता

विहीबार, २३ जेठ २०७६, ०७ : १२
नेकपामा जहिल्यै प्रचण्डको भर

काठमाडौं । नेकपामा पार्टी एकतापछि बेला – बेला नेताहरुकै बीचमा विवाद नदेखिएको होइन । त्यस्ता विवाद दुई भिन्न स्कुलिङवाट आएका तत्कालिन पार्टीका नेताहरुमा भन्दा तत्कालिन एमालेका नेताहरुका बीचमै बढी देखिएका छन् ।

पूर्व एमालेभित्र रहेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल पक्षबीच पेचिलो विवाद संगठनात्मक एकताका क्रममा देखिइरहेको छ । अहिले पछिल्लो पटक पनि केन्द्रीय सदस्यहरुको कार्यविभाजनका क्रममा ओली र नेपालपक्षका बीचमा विवाद देखिएको छ । जसकाकारण दुई दिन यता बसिरहेको सचिवालय बैठक अनिर्णित बनिरहेको छ । आज बिहान पुनः सचिवालय बैठक बोलाइएको छ ।

ओली दोहोरो जिम्मेवारीमा रहेका केन्द्रीय सदस्य लाई पनि जिल्ला इन्चार्ज बनाउन सकिने अडानमा छन् । नेपाल नीति बनाएर रोक्नु पर्ने पक्षमा देखिईरहदा अध्यक्ष प्रचण्डले भने दुवै अडानका बीचबाट नयाँ विकल्प अगाडी सारेका छन् । प्रचण्डले नीति नै बनाएर दोहोरो जिम्मामा रहेका नेतालाई रोक्न चाही नहुने तर आवश्यकता र महत्व भएका ठाउँमा भने नेताहरुका बीचमा छलफल नै गरी सहमतिका आधारमा दोहोरै भएपनि जिम्मा दिन सकिने गरी जानुपर्ने मध्यमार्गी प्रस्ताव अगाडी सारेका छन् । प्रचण्डको यस्तो प्रस्तावपछि आज बस्ने सचिवालय बैठकमा यही विधिबाट जिल्ला इन्चार्ज सहइन्चार्ज बनाउने सम्भावना बढेको नेकपा सचिवालयका एक सदस्यले बताए ।

प्रचण्डले दोहोरो जिम्मा नदिने तर केही जिल्लामा भने त्यहाँका बस्तुगत आवश्यकताका आधारमा र महत्वलाई ध्यान दिएर जिम्मा दिनु पर्ने मत राखेपछि ओली–नेपाल दुवै सहमतिमा आउन सक्ने सम्भावना  बढेर गएको छ । नेकपामा अहिले प्रचण्डको भूमिका भनेकै जहिल जहिले नेताहरुका बीचमा विवाद देखिन्छ, त्यो बेला उनले ल्याउने मध्यमार्गी प्रस्ताव नै निर्णाय गर्नका लागि अचुक औषधी बन्न थालेको छ । एक सचिवालय सदस्य भन्छन्, ओली नेपाल जहिल्यै आफनै अडानमा अडिने मात्र देखिन्छन, लचक बन्ने गरी सहमतिमा आउने देखिदैनन, त्यस्तो बेला प्रचण्डले ल्याउने प्रस्ताव दुबैलाई मिलन बिन्दु बनाउन सहयोगी बनिरहेको छ । अहिले पनि त्यही हुने देखिदैछ ।

नेकपामा तत्कालिन एमाले वृत्तका नेताहरुका बीचमा देखिएको ओली र नेपाल गुट एक अर्काेलाई निषेध गर्ने र ध्वंमसात्मक रुपमा नै प्रस्तुत हुने प्रवृति देखिदै गईरहेको छ । त्यस्तो बेला दुवै पक्षले प्रचण्डलाई नै समाधान सूत्र ल्याउने नेताका रुपमा अथ्र्याउन थालेका छन् ।

प्रचण्डको अहिले मात्र होइन, प्रदेश पदाधिकारीमा वरिष्ठ नेता नेपालले निर्णय प्रक्रियामा राखेको फरक मतलाई पून सचिवालयमा छलफलमा ल्याउने वातावरण बनाउने, गत स्थायी समिति बैठकमा अध्यक्षद्दयको राजनीतिक प्रतिवेदन बाहेक अन्य विषयमा छलफल गर्न दिने वातावरण निर्माण गरेर पार्टीभित्रका विवाद सन्तुलनकारी भूमिकामा मिलाउन भूमिका खेलेका थिए । 

प्रचण्डले स्थायी समिति बैठकमा पनि अहिले जस्तै मध्यमार्गी धारणा राखेर विवाद मिलाउन भूमिका खेलेका थिए । मंसिर २९ देखि पुस १३ सम्म बसेको स्थायी समिति बैठकमा ओली र नेपाल पक्षका नेताहरुका आ आफनै अडान हुँदा बैठकको निश्र्कष कसरी निस्कन्छ भन्ने जटिलताका बीचमा पनि प्रचण्डले ल्याएको बिकल्प अनुसार नै बैठकको वैठान भएको थियो ।

त्यो बेला ओली संगठनात्मक एकताको काम शीर्ष नेताहरुबाटै गर्न चाहिरहेका थिए । तर प्रचण्डले नै राजनीतिक प्रतिवेदनमा उठेका सझुाबलाई समेटेर जाने, संगठनात्मक काम कार्यदल वनाई उसले दिएको सुझाबका आधारमा टुग्याउने जस्ता मध्यमार्गी विकल्प सझुाएका थिए । अखिर त्यो बेला बैठक त्यही आधारमा टुंग्गिएको थियो ।  अहिले पनि सचिवालयले अन्तत ओली र नेपालको आ–आफनै अडानका बीच प्रचण्डको मध्यमार्गी प्रस्तावमै सहमति जुटाएर जिल्ला इन्चार्ज सहइन्चार्ज बनाउने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस