गैंडाकोट प्रहरी प्रमुख प्रहरी निरीक्षक जीसी अख्तियारको फन्दामा

सफल खबर संवाददाता

बुधबार, २२ जेठ २०७६, १६ : ५५
गैंडाकोट प्रहरी प्रमुख प्रहरी निरीक्षक जीसी अख्तियारको फन्दामा

नवलपुर । इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लोकबहादुर जीसीलाई अख्तियारले बुधबार पक्राउ गरेको छ । 
सवारी ज्यान मुद्दामा १० लाख घुस खाएर नक्कली चालक खडा गरेको भनी अख्तियारमा उजुरी परेपछि अख्तियारले उनलाई केन्द्रीय कार्यालयमा बोेलाएर अनुसन्धानका लागि बुधबार बिहान १० बजे पक्राउ गरी हिरासतमा राखेको अख्तियार स्रोतले जनाएको छ ।
एक जनाको मृत्यु र अर्काे एक जना गम्भीर घाइते हुने गरी भएको सवारी दुर्घटनामा जीसीले चालक फेरेर दोषीलाई उन्मुक्ति दिएको आरोप लागेको छ । घटनाको विषयलाई लिएर निरीक्षक जिसीले उल्टै पीडित पक्षलाई हप्कीदप्की समेत गरेको बताइएको छ । 
आयोगका अनुसार बैशाख ११ गते बोधराज पाण्डेले चलाएको जिपले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो । पूर्व–पश्चिम राजमार्गमा राति ११ बजे भएको घटनाको अनुसन्धानमा प्रहरी निरीक्षक जिसीले बेइमानी गरेको आरोप छ । 
निरीक्षक जिसीले मोटरसाइकल चालक गम्भीर घाइते र पछाडि बस्ने महिलाको मृत्यु भएकाले चालकको पहिचान नुखल्ने भन्दै पाण्डेको साटो किसुन महतोलाई नक्कली चालक बनाएर उभ्याएको बताइएको छ । अख्तियारले पत्र काटेपछि प्रहरी निरीक्षक जीसी आइतबार काठमाडौं गएको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस