पत्रकारको आन्दोलनप्रति पेशाकर्मीको ऐक्यवद्धता, विधेयक सच्याउन माग

प्रकाश सिग्देल

बुधबार, २२ जेठ २०७६, १५ : ५०
पत्रकारको आन्दोलनप्रति पेशाकर्मीको ऐक्यवद्धता, विधेयक सच्याउन माग

चितवन । मिडिया काउन्सील विधेयक संशोधन गर्न माग गर्दै आन्दोलन गरिरहेको नेपाल पत्रकार महासंघको देशव्यापी कार्यक्रम अन्तर्गत चितवनमा बुधबार भएको कार्यक्रमका वक्ताहरुले विधेयक सच्याउनु पर्ने आवाज उठाएका छन् ।
सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सील विधेयक प्रेसमैत्री नभएकोले संविधानको भावना अनुरुप प्रेसमैत्री बनाउनु पर्ने भन्दै उनीहरुले धारणा राखेका छन् । विधेयकले स्वतन्त्र प्रेसलाई अंकुश लगाउने भएकोले सच्याउनु पर्नेमा वक्ताहरुको जोड थियो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियार ‘इन्द्रजीत’ले संविधानको मूल मर्म र भावना विपरीत जान सरकारलाई छुट नभएको धारणा राख्नुभयो । उहाँले सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सील विधेयक जस्ताको तस्तै पास हुने अवस्था आफूले नदेखेको बताउनु भयो ।
नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सील विधेयकका प्रावधान गलत रहेकाले यो विधेयक पास गर्न सरकार अगाडि बढ्यो भने त्यसलाई रोक्न नेपाली काँग्रेसले सबै प्रयत्नहरु गर्ने बताउनु भयो । सभापति श्रेष्ठले संविधानमै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेण्टी गरिएकोले संविधान विपरीत जाने छुट कसैलाई नभएको बताउनु भयो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरीले लोकतान्त्रिक मुलुकमा प्रेसलाई नियन्त्रण गर्ने गरी ऐन, कानुन ल्याइनु अन्तर्राष्ट्रिय मूल्य मान्यता एवम् संविधानको मर्म र भावना विपरीत हुने भएकोले मिडिया काउन्सील विधेयक सच्याएर स्वतन्त्र प्रेसमैत्री बनाउनु पर्ने बताउनु भयो । सामाजिक सञ्जालमा आउने विषयवस्तुलाई हेरेर प्रेसप्रतिको धारणा नबनाउन गिरीले आग्रह गर्नुभयो ।
महासंघका केन्द्रीय सदस्य सिर्जना अर्यालले प्रेस स्वतन्त्रताको प्रत्याभूति भएमात्रै लोकतन्त्र सुदृढ हुने भएकोले यसलाई मनन् गर्न आग्रह गर्नुभयो । चितवन जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष अधिवक्ता कमल पाठकले मिडिया काउन्सील विधेयकमा राज्यले प्रेसलाई नियन्त्रणमा राख्न खोजेको देखिएकोले बार एसोसियसन यो विधेयक संशोधनको पक्षमा रहेको बताउनु भयो ।
नेपाल चिकित्सक संघ चितवनका अध्यक्ष डा. प्रकाश खतिवडाले प्रेस स्वतन्त्रताको लडाईंमा आफूहरुको साथ सहयोग सदैव रहिरहने बताउनु भयो । आफूहरु पनि केही समय अघिसम्म आन्दोलनमा रहेको र आन्दोलनबाटै समस्या समाधान भएकाले आन्दोलन आवश्यक रहेको उहाँले बताउनु भयो ।
कार्यक्रममा पब्लिक क्याम्पस महासंघका महासचिव कृष्ण न्यौपाने, नेपाल प्राध्यापक संघका केन्द्रीय सदस्य बालकृष्ण सिग्देल, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) चितवनका अध्यक्ष टीकाराम चापागाईं, मानव अधिकार सञ्जाल चितवनका संयोजक राजेन्द्र पौडेल, मानव अधिकार संरक्षण मञ्च चितवन अध्यक्ष अधिवक्ता कल्पना उप्रेती, गैरसरकारी संस्था महासंघ चितवनका अध्यक्ष सुरेशकुमार अधिकारी, पत्रकार महासंघ चितवनका उपाध्यक्ष नारायण अधिकारी लगायतले सरकार प्रेसलाई निमोठेर निरंकुशताको बाटोमा हिँड्न खोजेको भन्दै विधेयक सच्याइनु पर्ने बताउनु भयो । 
पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले विधेयकमा कम्तीमा १४ वटा बुँदामा संशोधन आवश्यक रहेको बताउँदै यसको सम्बोधन नभएसम्म आन्दोलन नरोकिने बताउनु भयो । नेपाल पत्रकार महासंघले सरकारले मन्त्रीपरिषद्बाट पारित गरी संसदमा दर्ता गरेको मिडिया काउन्सील विधेयक प्रेसलाई नियन्त्रण गर्ने उद्देश्यले ल्याइएको भन्दै त्यसलाई सच्याएरमात्र पास गर्न माग गर्दै आन्दोलन गरिरहेको छ । महासंघ जेठ २५ गतेसम्म दोस्रो चरणको आन्दोलनमा छ ।

प्रतिक्रिया दिनुहोस