कृषि प्रदर्शनी एवम् कृषक मेला आयोजना हुने

सफल खबर संवाददाता

आइतबार, १९ जेठ २०७६, १७ : ४७
कृषि प्रदर्शनी एवम् कृषक मेला आयोजना हुने

चितवन । कृषि क्षेत्रको बिकास र बिस्तारका लागि स्थापना गरिएको कृषि तथा वन विज्ञान विश्वविद्यालयले स्थापनाको १० वर्षपछि कृषि प्रदर्शनी एवम् कृषक मेला २०७६ आयोजना गर्ने भएको छ । 
सधैँ राजनितिक किचलोमै मात्र चर्चामा आइरहने विश्वविद्यालयले यसपटक आममानिसमा सकारात्मक छाप सृजना गर्न कृषि प्रदर्शनी एवम् कृषक मेला आयोजना गर्न लागेको हो । 
‘कृषि ज्ञान र प्रविधि, विकास र समृद्धिको आधार’ भन्ने नाराका साथ जेठ ३२ देखि असार ३ गतेसम्म कृषि प्रदर्शनी आयोजना गर्न लागिएको विश्वविद्यालयले आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । 
कृषि तथा वन विज्ञान विश्वविद्यालयको परिसर रामपुरमा आयोजना हुने कृषि प्रदर्शनी एवम् कृषक मेलामा विश्वविद्यालयको विशेष स्टलसहित कृषि प्रविधि र कृषकका ५० वटा स्टल रहने कृषि प्रदर्शनी एवम् कृषक मेला मूल आयोजक समितिका संयोजक एवम् विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. मनराज कोलाक्षपतिले जानकारी दिनुभयो । 
कृषि प्रदर्शनीमा विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयले विकास गरेका प्रविधिबारे पनि कृषकलाई जानकारी गराइने निर्देशनालयका निर्देशक प्रा.डा. नवराज देवकोटाले बताउनु भयो ।
देवकोटाले कार्यक्रममा अनुसन्धान तथा प्रसार निर्देशनालय, कृषि तथा वन विज्ञान विश्वविद्यालयले विकास गरेका १० वटा प्रविधिका बारेमा संक्षिप्त जानकारी गराउनु भएको थियो ।
कृषक, विद्यार्थी, कृषि पेशाकर्मी, कृषि प्राविधिक, कृषि उद्यमी एवम् कृषि मेशिनरी व्यवसायीबीच सहकार्य, अन्तक्र्रिया र समन्वयलाई प्रभावकारी रुपमा अगाडि बढाउँदै समग्र कृषि क्षेत्रको उत्पादकत्व बढाउँदै समृद्ध नेपाल निर्माणमा सहयोग पु¥याउने उद्देश्यले कृषि प्रदर्शनी एवम् कृषक मेला गर्न लागिएको संयोजक कोलाक्षपतिले बताउनु भयो ।
कृषि प्रदर्शनी एवम् कृषक मेलाको सहआयोजकमा प्रदेश नम्बर ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र भरतपुर महानगरपालिका तथा प्रवद्र्धकमा उद्योग वाणिज्य संघ चितवन रहेका छन् । कृषक कृषि वैज्ञानिकबीच अन्तरक्रिया गराइने मेलाले देशमा कृषिको विकासका लागि निकै ठुलो सहयोग र भूमिका खेल्ने, बिद्यार्थी तथा प्राध्यापकको ज्ञान साटासाट गर्न सहज हुने विश्वविद्यालयका उपकुलपति ईश्वरीप्रसाद ढकालले बताउनु भयो । मेला सम्पन्न गर्नका लागि ३० देखि ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस