रंगशालाको तारबार भत्काउनेलाई कालोमोसो दलेर कोर्रा हान्न सुन्तलीको माग (भिडियोसहित)

प्रकाश सिग्देल

विहीबार, १६ जेठ २०७६, १८ : ०३
रंगशालाको तारबार भत्काउनेलाई कालोमोसो दलेर कोर्रा हान्न सुन्तलीको माग (भिडियोसहित)

चितवन । भरतपुर महानगरपालिकामा बनाउन लागिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको तारबार भत्काउने मुख्य नाइके प्रकाश कँडेल गृहमन्त्रीको हवाला दिँदै चितवनमा गुण्डागर्दी शैलीमा आफ्नो हैकम चलाउने अराजक युवा भएको उनलाई नजिकबाट चिन्नेहरुले बताएका छन् ।
एकीकृत नेकपा माओवादीबाट मोहन वैद्यले छुट्टै पार्टी गठन गरेपछि वैद्यको पार्टीको विद्यार्थी संगठनमा लागेर धम्काउने र आफनो धन्दा चलाउने काममा पनि उनी सक्रिय थिए । पार्टीमा रहँदा अराजक गतिविधिमा संलग्न रहेको भन्दै उसलाई पार्टीले आन्तरिक कारबाही समेत गरेको पार्टी नेताहरु बताउँछन् । 
पछि वैद्य समूहबाट वर्तमान गृहमन्त्री रामबहादुर थापा बादल, उहाँका राजनीतिक सल्लाहकार सूर्य सुवेदी पथिकसहित केही नेता, कार्यकर्ता पुनः प्रचण्डले नेतृत्व गरेको माओवादीमा प्रवेश गर्दा उनी पनि वैद्य छोडेर सो पार्टीमा प्रवेश गरेका हुन् । विद्यार्थी राजनीतिदेखि आचरण खराब रहेका भनी कारबाही भोगेका कँडेलले रामबहादुर थापा बादलको नजिक रहेको बताउँदै अराजक गतिविधि गर्दै आएको बताइन्छ । 


बादल गृहमन्त्री भएपछि बादलको नाम बेचेर आफनो कमाइखाने धन्दा फस्टाउँदै लगेको उनका समकक्षीहरु बताउँछन् । उनले नारायणी नदीको गिट्टी, बालुवा निकासीमा ठेक्कापट्टा गर्ने, उद्योगी ब्यवसायीलाई आफ्नो सामान खरिद गर्न दबाव दिने र आफना विरुद्धमा आवाज उठाउने कोही निस्के धम्की दिने गर्दै आएको स्रोत बताउँछ ।
यसअघिको वर्ष पनि उनले नारायणी नदीको ठेक्कापट्टा आफ्नो पोल्टामा पार्न सफल भएका थिए । रंगशालामा बाटो नछोडेका कारण त्यहाँ लगाइएको बार स्थानीयले भत्काएको भन्ने बहाना बनाइए पनि खास भत्काउनुको कारण आफ्नो अनुकुलमा त्यहाँ काम नभएको कारणले भएको बुझिएको छ ।
धम्काएरै तर्साएरै सबै कुरा गर्न सकिन्छ भन्ने अराजक नियतका कँडेलले यसअघि पटकपटक फाउण्डेसनका कर्मचारीसँग ५ प्रतिशत कमिसन मागेको स्वयं धुर्मुसले ब्यक्त गर्नु भएको छ । नागरिकले स्वतःस्फूर्त रुपमा सहयोग गरी नागरिकको पसिनाले बन्न लागेको रंगशाला निमार्णमा पटकपटक अवरोध गर्न खोज्ने र ५ प्रतिशत कमिसन मागेर दुःख दिन थालेपछि आफूहरुले नदिने बताएपछि बाटोको बहाना बनाएर स्थानीयलाई उचालेर डोजर ल्याएर भत्काएको फाउण्डेसन बताउँछ ।
बाटोको नाममा बिषय उठे पनि खास विषय कमिसन नपाएको र आफ्नो अनुकुलमा काम नभएपछि मुख्य योजनाकार प्रकाश कँडेलले गाउँले उचालेर यस्तो आतंक सृजना गरेको घटनाक्रम बुझ्दै जाँदा प्रष्ट भएको नेकपाका प्रदेश सांसद विजय सुवेदीले बताउनु भयो ।
नेपाली काँग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठले पनि धुर्मुसको भनाईका आधारमा ५ प्रतिशत कमिसन मागेको र कमिसन दिन नमानेपछि आफ्नो हैकम देखाउन यो अवस्था सिर्जना भएको भन्ने कुरा स्पष्ट भएको बताउनु भयो ।
कँडेलले आफूले जे गरे पनि गृहमन्त्रीको संरक्षण रहने भन्दै कसैलाई पनि नटेर्ने र आफ्नो हित विपरीत जानेलाई धम्काएर तर्साएर जसरी हुन्छ त्यसरी आफ्नो स्वार्थ पूर्ती गर्दै आएको स्रोत बताउँछ । उनलाई चितवन प्रहरीले निकै प्रयास र प्रयत्नका बीच राति ११.४५ बजे भरतपुरबाट पक्राउ गर्न सफल भएको चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले बताउनु भयो । 
घटनाका सबै दोषीहरुलाई कडाभन्दा कडा कारबाही हुने र केही फरारहरुको खोजी भइरहेको उहाँको भनाई छ । संगठित हिसाबले दुई तीन चरणमा छलफल भएर गराइएको जघन्य प्रकृतिको घटना भएको अनुसन्धानबाट खुलेकाले कसैको दबावले पनि दोषीलाई नछाड्ने र आफूलाई एक हप्तामा सरुवा गरे पनि आफू खुशीसाथ जान तयार रहेको मल्ल बताउनु हुन्छ ।
यो घटनामा संलग्न कसैलाई पनि कुनै पनि हालतमा नछाडिने चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताउनु भयो । जागीर गए पनि, सरुवा भए पनि, बढुवा रोकिए पनि जुनसुकै हालतमा घटनाका सबै दोषीलाई कारबाही हुने र घटनाका मुख्य योजनाकार प्रकाश कँडेललाई हदैसम्मको सजाय गरिने बस्नेतले बताउनु भयो । उहाँले निर्माणस्थलमा भएको क्षतिको लगत लिने र बिगोसमेत उनीहरुबाटै भराउने बताउनु भयो ।
नेकपाका जिल्ला अध्यक्ष यमबहादुर परियारले मुख्य योजनाकार कँडेललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको र अब कानुनले हदैसम्मको कारबाही गर्नु पर्ने बताउनु भयो । घटनाका दोषी जो भए पनि कहीँ कतैबाट संरक्षण नगर्ने महानगरमा आयोजित बैठकका सहभागी सबैले प्रतिवद्धता जनाएका थिए । महानगर प्रमुख रेनु दाहालले घटना निकै जघन्य प्रकारको भएकाले हदैसम्मको कारबाही गर्न सुरक्षा निकायलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा धुर्मुस सुन्तली फाउण्डेसनका उपाध्यक्ष कुञ्जना घिमिरे सुन्तलीले रंगशालामा डोजर लगाएको नभै जनताको छातीमा डोजर लगाएको आफूलाई भान भएको बताउँदै रंगशालामा डोजर चलाएर बार भत्काउने मुख्य नाइके प्रकाश कँडेललाई कालोमोसो दलेर जुत्ताको माला लगाएर कोर्रा हान्न माग गर्नुभयो । आफूहरुको ज्यान खतरामा रहेको बताउँदै सुन्तलीले सुरक्षाको पूर्ण प्रत्याभूति नहुँदासम्म निर्माण कार्य सुरु गर्न नसकिने अवस्था सिर्जना भएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस