भोट माग्न यौन साइटमा

मंगलबार, १४ जेठ २०७६, २१ : ४३
भोट माग्न यौन साइटमा

काठमाडौं । डेनमार्क जुन ५ मा आमनिर्वाचन हुँदै छ। उम्मेदवारहरू जोडतोडले चुनाव प्रचारमा लागेका छन्। प्रचारका विभिन्न माध्यम प्रयोग गरिरहेका छन्।

एक जना उम्मेदवार भने भोट माग्न पुगेका छन्, यौन साइटमा। संसारको सबैभन्दा ठूलो यौन साइट ‘पर्नहब’मा उनले आफ्नो विज्ञापन राखेका छन्। चुनावी अभियानलाई पर्नहबसम्म पु¥याउने राजनीतिकर्मी हुन्, जोचिम बी ओल्सेन। 

ओल्सेन पूर्व सट पुट खेलाडी हुन्। उनले ओलम्पिकमा पनि भाग लिएका थिए। हाल उनी सांसद् छन्। आउँदो चुनावको तयारीस्वरूप उनी पर्नहबमा विज्ञापन गर्न पुगेका हुन्। 

पर्नहबमार्फत मतदातासम्म पुग्नु उनको लक्ष्य हो। ‘चुनावी अभियान भनेको दूरदृष्टि पनि हो,’ ओल्सेनले भने, ‘मतदाता जहाँ–जहाँ छन्, त्यहाँ–त्यहाँ पुग्नुपर्छ। त्यसैले म पर्नहबमा पुगेँ।’ 

विज्ञापनमा एउटा शब्द प्रयोग गरिएको छ– ‘जोके’। जोचिमको बोलाउने नाम जोके हो। डेनिस बोलीचालीको भाषामा यसको अर्थ हस्तमैथुन पनि हो। विज्ञापनमा ओस्लेनले मतदातालाई ‘जोके गरेपछि यो जोकेलाई एक भोट हाल्नुहोला’ भनेका छन्। 

उनले आफूले आशै नगरेको प्रतिक्रिया प्राप्त गरेको बताए। ‘पर्नहबमा हजारौँ डेनिसले दैनिक केही समय बिताउँछन्,’ उनले भने, ‘मेरो विज्ञापनले असाध्यै राम्रो प्रतिक्रिया प्राप्त गरिरहेको छ।’ 

उनले पर्नहबमा विज्ञापन गर्नुको खास उद्देश्य मतदाताको अनुहारमा मुस्कान ल्याउनु हो भनेका छन्। ‘मान्छेका ओठमा मुस्कान भरिदिनु असाध्यै राम्रो काम हो,’ ओल्सेनले भने, ‘पर्नहबमा विज्ञापन गरेर मैले यही काम गर्न खोजेको हो।’ सम्पूर्ण बाट 

प्रतिक्रिया दिनुहोस