अन्ततः गल्ती स्वीकारे शुभेच्छा बचत तथा ऋण सहकारी संस्थाका संस्थापक राजाराम श्रेष्ठले

नियम विपरीत लिएको आठ हजार रुपैयाँ पीडितलाई फिर्ता

प्रकाश सिग्देल

मंगलबार, १४ जेठ २०७६, १८ : १३
अन्ततः गल्ती स्वीकारे शुभेच्छा बचत तथा ऋण सहकारी संस्थाका संस्थापक राजाराम श्रेष्ठले

चितवन । नारायणगढको बेलचोकमा रहेको शुभेच्छा बचत तथा ऋण सहकारी संस्थाले सहकारी सेवाका नाममा नारायणगढका बिष्णुनारायण श्रेष्ठसंग लिएको बढी रकम फिर्ता गरेको छ । 
सहकारी प्रशिक्षालय परिसरमा सहकारीका संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार राजाराम श्रेष्ठले आफूले गल्ती गरेको र आगामी दिनमा यस्तो गल्ती नदोहो¥याउने प्रतिवद्धता जाहेर गरी बढी लिएको ८ हजार रकम पीडित पक्षलाई फिर्ता गर्नु भएको हो । काम गर्ने क्रममा गल्ती भएको र आगामी दिनमा यस्तो गल्ती नगर्ने बताउँदै आफूले पीडित पक्षलाई ८ हजार फिर्ता दिएको सहकारीका सल्लाहकार श्रेष्ठले बताउनु भयो ।
मोटरसाइकल खरिदका लागि ऋण प्रवाह गर्दै आएको सहकारीले सहकारीको मूल्य र मान्यता विपरीत आफूखुशी मनलाग्दी हर्जना भन्दै रकम असुल्ने र सेवाग्राहीलाई रसिद तथा बिल समेत नदिने गरेको पाइएको थियो । पटक पटक समाचार प्रकासन प्रसारण भएपछि संचालक पक्ष बाध्य भएर रकम फिता गर्ने टुंगोमा पुगेको हो ।  
नारायणगढका बिष्णुनारायण श्रेष्ठले मोटरसाइकल खरिद गरे वापतको भुक्तानी दिँदा आफू ठगिएको थाहा भएपछि साथी नवीन श्रेष्ठमार्फत हामीलाई गुनासो गर्नु भएको थियो । उहाँले तिर्नुपर्ने अन्तिम किस्ताको १२ हजार ३ सय ३५ रुपैयाँ तिर्न ६ महिना ढिला भएको भन्दै सहकारीका संस्थापक तथा सल्लाहकार राजाराम श्रेष्ठले जरिवाना तथा ब्याज गरी १९ हजार ७ सय ५३ रुपैयाँ लिनु भएको थियो ।
उहाँले २०७५ साल असोज २५ गते तिर्नु पर्ने अन्तिम किस्ता बापतको १२ हजार ३ सय ३५ रुपैयाँ २०७६ साल जेठ २ गते तिर्नु भएको थियो ।  त्यतिबेला सहकारी संचालकले १२ हजार ३ सय ३५ को १७ दशमलव ५ प्रतिशत ब्याज वापत १ हजार तीन सय दुई रुपैयाँ, ६ महिना ढिला भए वापतको पुनः १५ प्रतिशत पेनाल्टी ब्याज १ हजार १ सय १६ र १७ पटक ताकेता गरेको भनेर थप ८ हजार गरी साँवासहित १९ हजार ७ सय ५३ रुपैयाँ लिएका थिए । 
सहकारी संचालकले पैसा बुझाएको कुनै प्रमाण नदिई शुभेच्छा बचत तथा ऋण सहकारी संस्था लिमिटेड लेखेको ऋण असुली पुर्जाको पछाडि रकम लेखेर पैसा लिएपछि पीडित पक्ष मिडियासामु गुनासो राख्न आइपुगेको थियो । सफल खबर डट कमले पटकपटक समाचारमार्फत समस्या उठान गरेपछि अन्ततः पीडित पक्षले न्याय पाएको हो । 
सहकारी संचालकले आगामी दिनमा यस्तो गल्ती नगर्ने प्रतिवद्धता जनाएर आफूलाई बढी लिएको रकम ८ हजार नगद फिर्ता गरेको पीडित श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस