भरतपुर महानगरपालिका प्रमुखद्वारा प्रहरी विद्यालय अनुगमन

सफल खबर संवाददाता

आइतबार, १२ जेठ २०७६, १३ : २५
भरतपुर महानगरपालिका प्रमुखद्वारा प्रहरी विद्यालय अनुगमन

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले छोटो समयमै महानगरपालिकाले उपलब्ध गराएको विद्यालयमा आवश्यक पूर्वाधार निर्माण गरी पठनपाठन सुरु गरेकोमा प्रहरी विद्यालयलाई धन्यवाद दिनु भएको छ । आइतबार प्रहरी विद्यालयको अनुगमनपछि उहाँले विद्यालय परिवारलाई धन्यवाद दिनु भएको हो ।
महानगर प्रमुख दाहालले यस विद्यालयले यस भेगका विधार्थीहरूको शैक्षिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो । गुणस्तरीय, वैज्ञानिक र ब्यावहारिक शिक्षाबिना राष्ट्रले लिएको लक्ष्य हासिल गर्न नसकिने बताउँदै उहाँले यस काममा विद्यालय सहयोगी हुने धारणा राख्नुभयो । उहाँले प्रहरी विद्यालयको संरक्षकत्व ग्रहण गर्न महानगर सधैं तयार रहेको बताउनु भयो । 
प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले भरतपुर महानगरले समयमै जग्गा र भौतिक पूर्वाधार प्रदान गरेर विद्यालय संचालन गर्ने वातावरण मिलाएकोमा प्रमुख दाहाललाई धन्यवाद ब्यक्त गर्दै शान्तिपुर प्रहरी विद्यालयलाई देशकै नमुना विद्यालय बनाउने प्रतिवद्धता जनाउनु भयो ।
यस विद्यालयको भौतिक पूर्वाधार निर्माणमा समयमै सहयोग पुग्ने बताउँदै महानिरीक्षक खनालले शैक्षिक गुणस्तर वृद्धि र उच्च अनुशासन वृद्धिमा ध्यान दिन शिक्षक कर्मचारीलाई निर्देशन दिनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, विद्यालयका समादेशक धर्मबहादुर अधिकारी, प्राचार्य सुन्दर बुढाथोकी लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
नेपाल पुलिस स्कुल शान्तिपुर र भरतपुर महानगरपालिकाबीच गत वर्ष चैतमा २ बिघा जग्गासहित भौतिक पूर्वाधार हस्तान्तरण गरी विद्यालय संचालन सम्बन्धी सम्झौता सम्पन्न भएको थियो । हाल विद्यालयमा कक्षा १ देखि ५ सम्म २ सय ६५ जना छात्रछात्रा अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस