उदयपुर वनलाई पछ्याउँदै नवजागृति : वन हो कि अतिक्रमित क्षेत्र छुट्याउनै गाह्रो

अतिक्रमित क्षेत्र खाली नगरे पुरै वन नासिने खतरा

प्रकाश सिग्देल

आइतबार, ०५ जेठ २०७६, १८ : ००
उदयपुर वनलाई पछ्याउँदै नवजागृति : वन हो कि अतिक्रमित क्षेत्र छुट्याउनै गाह्रो

चितवन l वन के के लागि समुदायलाई हस्तान्तरण गरिन्छ ? सहजै उत्तर आउँछ संरक्षणका लागि, अतिक्रमणबाट जोगाउनका लागि । तर अब यो मान्यता असफल भएको छ । भरतपुरको नवजागृति सामुदायिक वन समुदायलाई हस्तान्तरणपछि झन् बढी अतिक्रमणमा परेको छ । 
यो वन चितवन जिल्लाकै सबैभन्दा धेरै अतिक्रमणमा पर्नेको दुई नम्बर लिष्टमा रहेको छ । पहिलोमा उदयपुर सामुदायिक वन रहेकोे छ । भरतपुर ११ मा पर्ने नवजागृति सामुदायिक वनको बसेनी गणेशस्थानहँुदै जखडीमाई, लामा टोल, गाईखर्कहँुदै नौरंगे रामबेल सामुदायिक वनको सिमानासम्मको रिङरोडसंग जोडिएको सबै क्षेत्र अतिक्रमणमा परेको छ ।
गणेशस्थानको करिब ४७ हेक्टर जमिनमा वनको नामनिशान समेत मेटिइसकेको छ । जहाँ हजारौं घरहरु छन् । अतिक्रमित क्षेत्रलाई संरक्षण गरी वन क्षेत्रमा रुपान्तरण गर्नुको साटो सामुदायिक वनले गणेशस्थानको करिब ४७ हेक्टर जमिन सामुदायिक वनबाट समेत हटाइसकेको छ । सामुदायिक वनको नाममा रहेको बाँकी ३ सय १५ दशमलव ७६ हेक्टर जमिनमध्ये पनि रिङरोडसंग जोडिएको सबै जमिन अतिक्रमणमा परेको छ ।
सामुदायिक वन हस्तान्तरण हुनुपूर्व त्यस क्षेत्रमा कमलादेवी मन्दिर, सामुदायिक वनको कार्यालय रहेको परिसरसंगै जोडिएको गुम्बा र जखडीमाई मन्दिर निर्माण भएको र बाँकी सबै अतिक्रमण गरी बनाइएको सामुदायिक वनकै पदाधीकारीहरु बताउँछन् ।
अहिले यो वन क्षेत्रमा विभिन्न जाति, सम्प्रदायका नाममा मठ, मन्दिर, गुम्बा, पाटी, पौवा, धर्मशाला, कुल देवता मन्दिर निर्माण भएका छन् । त्यो वन क्षेत्रभित्र ८ वटा खेल मैदान, ४ वटा गुम्बा, ४ वटा मन्दिर, भवन ३ वटा रहेका छन् । वन क्षेत्रमा जमिन अतिक्रमण गरी क्षत्री समाज, अर्याल समाजले भवन निर्माण गरेको र कुमाल समाजले पनि निर्माणका लागि काम थालेको बताइएको छ ।


सामुदायिक वनका अध्यक्ष पुस्तकप्रसाद गौतमले आफनो सामुदायिक वनको रिङरोडसंग जोडिएको धेरै क्षेत्र अतिक्रमणमा परेको र आफूहरुले सामुदायिक वन हस्तान्तरणपूर्व निमार्ण भएका संरचनाबाहेक अरु भत्काउने तयारी गरेको बताउनु भयो । महानगरले रिङरोड बिस्तार गर्ने तयारी गरेकाले महानगरले बाटो फराकिलो बनाउँदा धेरै संरचना भत्किने भएकाले आफूहरु पर्ख र हेरको रणनीतिमा रहेको उहाँ बताउनु हुन्छ । 
महानगरले तत्काल बाटो बिस्तार नगरे आफूहरुले डिभिजन वन कार्यालयसंग सहकार्य गरी अनुमतिबिना बनेका संरचना भत्काउने र वन क्षेत्रमा मेसजाली लगाएर सुरक्षित बनाउने बताउनु भयो । आफ्नो वन क्षेत्रमा अतिक्रमण बढेको भनेर आफूहरुले डिभिजन वन कार्यालयलाई पनि पत्राचार गरेको र अब वनसंगै सहकार्य गरी हटाउने प्रक्रियामा आफूहरु रहेको वनकी सचिव शारदा पौडेलले बताउनु भयो । वन समितिले गरेरमात्रै केही नहुने भएकाले त्यहाँबाट अतिक्रमण हटाउन सबैको साथ हुनु पर्ने पौडेल बताउनु हुन्छ ।
वन अतिक्रमणमै परेकाले मेसजालीका लागि बिनियोजित भएको ३१ लाख रकम फिर्ता जाने अवस्था आएको बुझिएको छ । अतिक्रमित जमिनमा अतिक्रमण नहटाउँदासम्म कसरी कहाँ तारबार गर्ने ? त्यही समस्याले आएको ३१ लाख बजेट पनि खर्च गर्ने अवस्था नभएको अध्यक्ष गौतम बताउनु हुन्छ ।
डिभिजन वन कार्यालय चितवनका प्रमुख बिष्णुप्रसाद पौडेलले गणेशस्थान बाहेकको वन क्षेत्रमा संस्थागत अतिक्रमण बढेको र अतिक्रमित क्षेत्र खाली गर्न सामुदायिक वन पनि सहमत रहेकाले त्यो क्षेत्रमा अवैध रुपमा बनेका संरचना हटाइने बताउनु भयो । 
गणेशस्थान समेत अतिक्रमित क्षेत्र भए पनि त्यहाँ घना बस्ती भएको र वन क्षेत्र नभएकाले त्यसको हकमा राज्यले निर्णय गर्ने तर वन क्षेत्रभित्रको अतिक्रमित जमिन भने आफूहरुले खाली गर्ने पौडेल बताउनु हुन्छ । जमिन खाली गरेर त्यस क्षेत्रमा मेसजाली लगाउने पौडेल बताउनु हुन्छ । वन क्षेत्रमा कसैले पनि अनुमतिबिना संरचना निर्माण गर्न नपाउने बताउँदै पौडेलले वन अतिक्रमण गर्नेलाई कानुनी कारबाही हुने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस