सार्वजनिक जग्गा संरक्षण : चितवनमा १ सय ४६ बिघा, भरतपुर महानगरमा ६९ बिघा

उर्गेन तामाङ

आइतबार, ०५ जेठ २०७६, १६ : ५०
सार्वजनिक जग्गा संरक्षण : चितवनमा १ सय ४६ बिघा, भरतपुर महानगरमा ६९ बिघा

चितवन । देशैभर विभिन्न स्थानमा रहेका सार्वजनिक जग्गा षड्यन्त्रपुर्वक व्यक्तिको नाममा पास गरिएको खबरहरु सार्वजनिक भईरहँदा चितवनमा स्थानीय तहले सार्वजनिक जग्गा संरक्षण अभियानलाई तिब्रता दिएको छ । 
एउटा महानगरपालिका, ५ वटा नगरपालिका र एउटा गाँउपालिका रहेको चितवनमा अहिलेसम्म १ सय ४६ बिघा सार्वजनिक जग्गा संरक्षण भएको छ । जग्गा खोज्ने, पहिचान गर्ने र पहिचान भएका स्थानमा बोर्ड गाड्ने काम भइरहेको छ । 

भरतपुरका ३६ स्थानमा साइनबोर्ड
भरतपुर महानगरपालिकाले ६८ बिघा, १७ कठ्ठा, ११ धुर सार्वजनिक जग्गा संरक्षण गरी ३६ स्थानमा साइनबोर्ड राखेको छ । गएको ५ महिनामा ती सार्वजनिक जग्गा आप्mनो स्वामित्वमा लिएको महानगरको सार्वजनिक जग्गा पहिचान तथा व्यवस्थापन एवं कार्यान्वयन समितिका संयोजक अरुण पीडित भण्डारीले जानकारी दिए । 
२०७५ साल पुसमा भण्डारीको संयोजकत्वमा ९ सदस्यीय समिति गठन भएको थियो । पुसको पहिलो साताबाट जिम्मेवारी लिएर काम सुरु गरेकोमा जग्गा पहिचान गर्नमात्रै करिब ३ महिना जति लागेको उनको भनाई छ । महानगरको स्वामित्वमा ल्याइएका ३६ स्थानमा अहिले महानगरले साइनबोर्ड लगाएको भण्डारीले बताए । 
संरक्षणमा लिएमध्ये सबैभन्दा बढी जग्गा महानगरको ३ नम्बर वडामा २२ बिघा रहेको छ । वडा नम्बर २१ का विभिन्न स्थानमा गरी १६ बिघा ९ कठ्ठा रहेको समितिका संयोजक भण्डारीले जानकारी दिए । उनका अनुसार जेठ २ गते बसेको महानगरको बोर्ड बैठकले हालसम्म संरक्षित जग्गाबारे समितिको तथ्यांकलाई अनुमोदन गरेको छ । 
आप्mनै भवन नभएका वडा कार्यालयको भवन बनाउने अभियान अन्तर्गत वडा नम्बर १२ को कार्यालय निर्माणका लागि ४ कठ्ठा जग्गा खोजेर दिइएको छ । यस्तै वडा नम्बर २ मा पनि वडा कार्यालय निर्माणका लागि करिब ७ कठ्ठा जग्गा खोजेर तयार पारिएको छ । अहिले भवन निर्माणका लागि स्वीकृत भई प्रकृया समेत अघि बढिसकेको भण्डारीले बताए । 

सयौँ बिघा संरक्षण गर्न बाँकी
अझै पनि सयौँ बिघा सार्वजनिक जग्गा रहेकाले खोजबिन गरी जग्गा पहिचान गर्ने काम निरन्तर भइरहेको र ती जग्गा चाँडै महानगरको स्वामित्वमा आउने भण्डारीको भनाई छ । केही वर्षभित्र सबै सार्वजनिक जग्गा नियन्त्रणमा लिइसक्ने बताइएको छ । अहिले असुरक्षित जग्गा विशेष प्राथमिकतामा परेको भन्दै भण्डारीले मठमन्दिर, गुम्बा, विभिन्न संघसंस्थाले प्रयोग गरिरहेको जग्गालाई पनि बिस्तारै व्यवस्थित बनाइने बताए । अधिकांश सार्वजनिक जग्गा ऐलानीका रुपमा व्यक्तिले प्रयोग गरिरहेको पाइएको छ । 
केही व्यक्तिले स्वःस्फुर्त रुपमा जग्गा महानगरको समितिलाई देखाइदिने गरेका छन् भने केही ठाँउमा प्रयोग गरिरहेका जग्गा छाड्न आनाकानी गर्ने गरेका छन् । भण्डारीले भने, ‘त्यस्ता व्यक्तिलाई कुनै विवाद नआउने गरी सम्झाईबुझाई गर्ने गरिएको छ । अहिलेसम्म कुनै किसिमको विवाद, अप्mठेरो अवस्था आएको छैन ।’ सरंक्षित जग्गा महानगरबासीको सम्पत्ति भएकाले स्थानीयसँगको आवश्यकताको आधारमा प्रयोग गर्ने महानगर प्रमुख रेनु दाहालको भनाई छ । 

रत्ननगरमा २७ बिघा संरक्षण
रत्ननगर नगरपालिकामा अहिलेसम्म २७ बिघा सार्वजनिक जग्गा संरक्षण गरिएको मेयर नारायण वनले बताए । नगरपालिकामा वडा नम्बर १४ का अध्यक्ष हरिकुमार श्रेष्ठको संयोजकत्वमा ९ सदस्यीय सार्वजनिक जग्गा संरक्षण समिति गठन गरिएको छ । समितिले नगरका विभिन्न स्थानमा रहेका जग्गा पहिचान गर्ने, लागत संकलन गर्ने लगायतका कार्य गरिरहेको समितिका संयोजक श्रेष्ठले बताए । 

खैरहनीमा १४ बिघामा तारबार 
खैरहनी नगरपालिकामा १४ बिघा सार्वजनिक जग्गा संरक्षण गरिएको छ । मेयर लालमणि चौधरीका अनुसार ८ महिनादेखि जग्गा संरक्षण अभियान सञ्चालन गरिएको छ । उनले संरक्षित जग्गालाई तारबार गरिएको र अरु जग्गा खोजबिनको काम जारी रहेको बताए । 

माडीमा १६ बिघा संरक्षण
माडी नगरपालिकामा वडा नम्बर ८ मा रहेको १६ बिघा सार्वजनिक जग्गा संरक्षण गरिएको मेयर ठाकुरप्रसाद ढकालले बताए । आप्mनै नेतृत्वमा वडा नम्बर ४ सहित अन्य वडामा पनि जग्गा पहिचान भइरहेकाले चाँडै संरक्षण गरिने मेयर ढकालको भनाई छ । 

राप्तीमा २० बिघा संरक्षण
राप्ती नगरपालिकामा हालसम्म २० बिघा सार्वजनिक जग्गा संरक्षण गरिएको नगरपालिकाका उपप्रमुख एवं जग्गा संरक्षण समितिका संयोजक इमानसिं लामाले जानकारी दिए । वडा नम्बर ७ को शान्तिकुञ्जमा १० बिघा जग्गामा तारबार गरिएको छ भने अन्य वडाहरुमा पनि खोजी कार्य जारी रहेको लामाको भनाइ छ । 
साविकको भण्डारा लगायतका विभिन्न स्थानमा सुकुम्बासी बस्ती भएकाले उनीहरुलाई विकल्पबिना उठीबास लगाएर जग्गा संरक्षण गर्न समस्या भइरहेको मेयर प्रभा बरालले बताइन् । 

कालिकामा लगत संकलन जारी
कालिका नगरपालिकामा हालसम्म जग्गा संरक्षण भएको छैन । विभिन्न वडामा रहेको जग्गा पहिचान गर्न लगत संकलको काम चलिरहेको वडा नम्बर १ का अध्यक्ष लिलाबहादुर गुरुङले बताए । उनका अनुसार वडा नम्बर ३, ६, ७, ८, ९, १० र ११ मा धेरै सार्वजनिक जग्गा रहेका छन् । समिति गठन नभए पनि नगरपालिकाले वडालाई लगत संकलनका लागि सर्कुलर जारी गरेको उनले बताए ।  

इच्छाकामनामा पहिचानको काम 
इच्छाकामना गाँउपालिकामा पनि जग्गा पहिचान तथा संरक्षणको काम भइरहेको छ । गाँउपालिका अध्यक्ष गीताकुमारी गुरुङले मालपोत कार्यालय नापी शाखाबाट नक्सा लगेर सार्वजनिक जग्गा पहिचान भइरहेको र चाँडै संरक्षण गरिने बताइन् । गाउँपालिकाको सर्कुलर अनुसार सम्बन्धित वडाले जग्गा पहिचान तथा संरक्षणको काम गरिरहेको उनको भनाई छ । पहाडी जग्गा भएकाले समस्याबीच काम गरिरहेको गुरुङले बताइन् ।

प्रतिक्रिया दिनुहोस