सरकारी गाडीको दुरुपयोग गर्दै खानेपानी मन्त्रालयका इन्जिनियर

प्रकाश सिग्देल

विहीबार, ०२ जेठ २०७६, १९ : २१
सरकारी गाडीको दुरुपयोग गर्दै खानेपानी मन्त्रालयका इन्जिनियर

- प्रकाश सिग्देल
चितवन । नेपाल सरकार खानेपानी मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर हिमनाथ लामिछानेले सरकारी गाडीको दुरुपयोग गरेको उपभोक्ता अधिकार कर्मीहरुले आरोप लगाएका छन् । दुई दिनदेखि मन्त्रालयको बा २ झ २०९० नम्बरको कार जिल्ला मालपोत कार्यालय भरतपुरको कम्पाउण्डमा देखिएको र निजी कामका लागि सो कार प्रयोग गरिएको भन्दै उपभोक्ता अधिकार संरक्षण मन्च चितवनका उपाध्यक्ष विष्णु भुषालले खवरदारि गर्नुभयो । कार परिवारसहित मालपोतमा आएको र जग्गा पास गर्न आएको लेखापडि व्यवसायी र उपभोक्ता अधिकार कर्मीको दावी छ ।  

कारका चालक हरिहर चौधरीले आफुले हाकिम सावलाई लिई आएको बताए । हाकिम साव खानेपानिको कामका लागि चितवन आएको र उहाँ खानेपानी टंकि निरिक्षणका लागि १ हप्तादेखि यतै रहेको बताए । सर पश्चिम चितवन लागेकाले आफुले कार मालपोतमा राखेको उनको भनाइ छ । उनले मन्त्रालयबाट वैशाख २७ गते  लिएको भ्रमण आदेशमा बा २ प २०९० नम्वरको गाडी उल्लेख छ तर उनले चलाएको गाडिमा बा २ झ २०९० नम्बरको नम्वर पिलेट टाँसिएको छ । उनले ल्याएको आदेशमा जेठ १ गतेसम्म मात्रै सिफारीस भएको छ । तर कार जेठ २ गते मालपोत अगाडि भेटिएको हो ।

चालकले ल्याएको भ्रमण आदेशको पत्रमा उल्लेख भएको अल्फाबेट र कारको अल्फाबेट फरक परेकाले धेरैले कार निजि काममा आएको भन्दै खबरदारी गर्नुपर्ने बताएका थिए ।  सरकारी सवारी दुरुपयोग भएको भन्ने गुनासो आएपछि फोटो तथा भिडियो खिच्न थालेपछि चालकले कार त्यहाँबाट अन्यत्र लगेका थिए ।

जिल्ला मालपोत कार्यालय चितवनका प्रमुख लाल कृष्ण शर्मा पौडेलले दुई दिनदेखि आफुले सरकारी कार आफ्नो परिसरमा देखेको तर को आयो किन आयो भन्ने आफुलाई जानकारी नभएको बताउनुभयो । उपभोक्ता अधिकार कर्मीले प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत समक्ष गुनासो समेत गरेका थिए । 

प्रतिक्रिया दिनुहोस