७८ लाख धरौटीमा रिहा भए पूर्वअख्तियार आयुक्त राजनारायण पाठक

सफल खबर संवाददाता

बुधबार, ०१ जेठ २०७६, १९ : २५
७८ लाख धरौटीमा रिहा भए पूर्वअख्तियार आयुक्त राजनारायण पाठक

काठमाडौं । भ्रष्टाचारको मुद्धा खेपिरहेका राजनारायण पाठक ७८ लाख धरौटीमा रिहा भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त पाठकलाई बुधबार विशेष अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी रिहाई भएका हुन् । पाठकले नेपाल बंगलादेश बैंकको बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन् ।

भ्रष्टाचार आरोपपछि फरार रहेका पाठक बुधबार विशेष अदालतमा हाजिर भएका थिए । अख्तियार दुरुपयोेग अनुसन्धान आयोगका पूर्वआयुक्त पाठकले भक्तपुरको नेपाल इन्जिनियरिङ क्याम्पसको विवाद मिलाइदिने भन्दै ७८ लाख घुस लिएको सार्वजनिक भएपछि राजीनामा दिएका थिए । पाठकमाथि सत्तारुढ दल नेकपाले महाभियोग लगाउने तयारीसँगै उनले गत फागुन ३ गते राष्ट्रपति समक्ष राजीनामा दिएका थिए । 

इन्जिनियरिङ कलेजको स्वामित्व विवाद सल्टाइदिने भन्दै कलेज सञ्चालक समितिका एक समूहसँग ७८ लाख रुपैयाँ घूस लिएको समाचार सार्वजनिक भएपछि उनी नैतिक दवावमा परेका थिए । २०७४ भदौमा पाठकले अध्यक्ष सो समूहसँग दुई पटक गरी सो रकम लिएका थिए । 

पूर्वआयुक्त पाठकले घूस लिएर पनि काम नभएपछि पैसा फिर्ता लिनका लागि घुस दिनेहरुले उनलाई घुस दिएको विषयमा कुरा गर्दै पैसा फिर्ता मागेको भिडियो बनाएका थिए । 
आयोगका पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्कीको पालामा पाठकले आयोगको सदस्यमा नियुक्ति पाएका थिए ।   

प्रतिक्रिया दिनुहोस