‘सेवा प्रवाहको झन्झटिलो प्रक्रियाले भ्रष्टाचार संस्थागत’

मंगलबार, ३१ बैशाख २०७६, २० : २६
‘सेवा प्रवाहको झन्झटिलो प्रक्रियाले भ्रष्टाचार संस्थागत’

काठमाडौं । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सेवा प्रवाहको झन्झटिलो प्रक्रियाले भ्रष्टाचार संस्थागत हँुदै गएको टिप्पणी गर्नुभएको छ ।  

उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको आयोजनामा जनकपुरमा सम्पन्न प्रशासकीय न्याय, सकारात्मक सोच र सेवा विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सेवाग्राही झन्झटिलो प्रक्रियालाई थेग्न नसकेपछि घुस दिएर काम गराउने गरेकाले सेवा प्रवाहको प्रक्रियालाई जनमुखी र व्यावहारिक बनाउनुपर्ने बताउनुभयो । 

उहाँले भ्रष्टाचारको अन्त्यको शुरुआत माथिबाटै हुनुपर्ने उल्लेख गर्दै भन्नुभयो, “भ्रष्टाचार अन्त्यको शुरुआत आफैँबाट गरिनुपर्दछ, त्यो पनि माथिल्लो निकायबाट, अनि मात्र भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ ।” नियम र कानून बनाएर भ्रष्टाचार अन्त्य गर्न नसकिने भएकाले मुख्यमन्त्री राउतले यसका लागि आफ्नै छातीमा हात राखेर अघि बढनुपर्ने बताउनुभयो । 

जनकपुर उच्च अदालतका मुख्यन्यायधिश हरि पोखरेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मधेशी आयोगका अध्यक्ष डा विजय दत्त, उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिका अध्यक्ष काशिराज दाहाल, प्रमुख जिल्ला अधिकारी प्रदीप कनेललगायतले मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस