देवघाटमा बन्ने भनिएको त्रिकोणात्मक पुलमा राजनीति : धमाधम उल्टिँदै निर्णय

प्रकाश सिग्देल

शनिबार, २८ बैशाख २०७६, १८ : १७
देवघाटमा बन्ने भनिएको त्रिकोणात्मक पुलमा राजनीति : धमाधम उल्टिँदै निर्णय

चितवन । देवघाट क्षेत्र विकास समितिको यसअघिको समितिले गरेका निर्णयहरु धमाधम उल्ट्याउने तयारीमा क्षेत्र विकासको वर्तमान समिति लागिपरेको भन्दै चिन्ता प्रकट हुन थालेको छ । 
देवघाटमा भएका तमाम विकृति र विसंगति रोक्दै देवघाटलाई हरेक धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा विकास गर्दैै देवघाटको महिमा थप उँचो बनाउन लाग्नु पर्नेमा उल्टै यसअघिको समितिले गरेका महत्वपूर्ण र दीर्घकालीन महत्व राख्ने योजनाहरु पनि वर्तमान समितिले उल्ट्याउने कसरत गरेको भन्दै स्थानीयले दुःख प्रकट गरे । 
निवर्तमान अध्यक्ष टंकनाथ पौडेलको पालामा निकै चर्चामा रहेको र निकै महत्वका साथ हेरिएको गौरवको परियोजनाका रुपमा रहेको त्रिकोणात्मक पुल निमार्णको कार्यलाई वर्तमान समितिले विभिन्न अफवाह फैलाउँदै रद्द गर्ने अवस्थामा पु¥याउने खेलमा लागेको भन्दै स्थानीयले दुःख प्रकट गरे । 
निवर्तमान अध्यक्ष पौडेलले पुल निमार्णको गुरुयोजना समेत तयार पारी आवश्यक प्राविधिक काम सक्नु भएको थियो । पुलकै बिषयमा क्षेत्र विकासमा मन्त्रालयका विज्ञसहित पटकपटक छलफल भई बजेट विनियोजन गरी काम अगाडि बढेको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको सहमतिमा पुलको डिजाईन समेत फाईनल भई सबै प्राविधिक काम सम्पन्न गरी टेण्डरको प्रक्रियामा पुग्दै गर्दा आफनो कार्यकाल सकिएकाले बाँकी काम गर्न आफूले नसकेको पौडेलले बताउनु भयो । 
क्षेत्र विकास समितिका अध्यक्ष र केही सदस्यहरुले त्यहाँ पुल निर्माण गर्नै हँुदैन भनी कुरा उठाउने गरेकाले पुलको कामले गति लिन नसकेको बताइएको छ । पुलकै कारणले कार्यकारी निर्देशक र पदाधीकारीबीच सन्तुलन नमिलेको बताइएको छ । स्रोतका अनुसार कार्यकारी निर्देशक पुल निमार्ण गर्नु पर्ने पक्षमा रहेको र अध्यक्षसहित केही सदस्य कुनै पनि हालतमा पुल निमार्ण गर्न नहुने भनेर लागेका छन् ।
आफ्नो पालाको निकै महत्वका साथ हेरिएको योजना अहिलेको कार्यसमितिले वास्ता नगरी नबनाउनेसम्मका कुराहरु गरेको आफूलाई सुन्नमा आएकाले निकै दुःख लागेको निवर्तमान अध्यक्ष टंकनाथ पौडेलले बताउनु भयो । राम्रो काम जसले थालनी गरे पनि त्यसलाई पूर्णता दिन पछि आउने पदाधीकारी लाग्नु पर्ने पौडेल बताउनु हुन्छ । पुल निमार्णमा नयाँ समिति लाग्नेमा आफू विश्वस्त रहेको पौडेलको भनाई छ ।
पवित्र धार्मिक क्षेत्र देवघाटधाममा त्रिकोणात्मक पुल बन्न सके त्यसले देवघाटको धार्मिक महत्व थप उँचो हुने र त्यसले गर्दा पनि देवघाटमा लाखौं पर्यटकको आगमन हुने पौडेल बताउनु हुन्छ । सुरुमा त्यहाँ पुल निमार्ण गर्न उचित नहुने भनेर आफैले कुरा उठाएको र पछि तेस्रो बैठकसम्म आईपुग्दा पुल निमार्णको कामलाई अगाडि बढाउन सबैको मत भएकाले तेस्रो बैठकबाट पुल निर्माण प्रक्रिया अगाडि बढाउने निर्णय भएको देवघाट क्षेत्र विकास समितिका सदस्य नवराज ढकालले बताउनु भयो ।
त्यहाँ पुल बनाउँदा त्यसले त्यहाँको पुरातत्वलाई कसरी सम्बोधन गर्न सक्छ त्यो बिषय पछि बहसको बिषय बन्ला तर अहिलेका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने र त्यसका लागि मन्त्रालयमा पुलको काम कहाँ कति पुगेको छ ? त्यसको फाईल खोजी गरी थप काम कारबाही अगाडि बढाउने भन्ने सहमति भएकाले आफूहरु छिट्टै मन्त्रालयमा जाने तयारीमा रहेको ढकाल बताउनु हुन्छ ।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले पुल निर्माणका लागि सैद्धान्तिक सहमति भएको तर देवघाटमा त्रिकोणात्मक पुल निर्माण हुँदा त्यसले तल नदी किनारमा स्नान गर्ने मानिसहरुको हकमा असर हुने र धार्मिक क्षेत्रमा धेरै उत्खनन् गर्न नहुने भन्ने कुरा पनि आएकाले त्यो बिषयमा पनि छलफल भइरहेको बताउनु भयो ।
‘तीन जिल्ला जोड्ने पुल भएकाले चितवन र नवलपुरतर्फ समस्या नभए पनि तनहुँतर्फ पुलको पिल्लर बस्ने ठाउँमा गलेश्वर आश्रम पर्ने र त्यहाँ ठूला उपकरण प्रयोग गरेर काम गर्दा त्यसले त्यहाँ ठुलो क्षति हुन सक्ने अवस्था सृजना भए त्यसको हकमा के गर्ने भन्ने पनि बहस छ’ पौडेलले भन्नुभयो, ‘क्षेत्र विकासमा सहमति भएको छ । अब मन्त्रालयले प्राथमिकतामा पार्छ कि पार्दैैन ? त्यही आधारमा निर्माण प्रक्रिया अगाडि बढ्छ ।’
पुलमाथि मानिस हिँड्ने, तल नदीमा भक्तजनहरुले स्नान गर्दा त्यसले शोभनीय नहुने हुँदा निर्माण गर्न नहुने तर्क केही साधुहरुले गरेका छन् । केही स्थानीयले भने क्षेत्र विकास समितिका अध्यक्ष पौडेलको देवघाट पुल पारि तनहुँतर्फ किराना पसल रहेकाले त्यहाँको ब्यापार सुक्ने डरले पनि त्रिकोणात्मक पुल बनाउन हुँदैन भन्ने पक्षमा अध्यक्ष लागेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस