चितवन २ (ख) मा ८० करोडको योजना छनोट

गणेशधाम, पुँगी खोला तलाउदेखि केरुङगा घोल व्यबस्थापनसम्म

शुक्रबार, २७ बैशाख २०७६, १८ : ३४
चितवन २ (ख) मा ८० करोडको योजना छनोट

चितवन । आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि प्रदेश नम्बर ३ अन्तर्गत चितवन क्षेत्र नम्बर २ ‘ख’ ले विभिन्न चार वटा योजनाहरु छनौट गरेको छ । आगामी वर्षका लागि प्रदेश सरकार नीति तथा योजना आयोगमा पठाउने गरी चार वटा योजनाहरु सर्वसम्मत रुपमा छनौट भएको प्रदेशसभा सदस्य बिजय सुवेदीले जानकारी दिए ।

शुक्रवार भएको बैठकले नागरिकको आवश्यकता र प्राथमिकताका आधारमा योजना छनोट गरेको सुवेदीले बताए । गणेशधाम पुँगी खोला तलाउ निर्माण  र केरुङगा घोल व्यवस्थापनका लागि ५० करोड माग गरिएको उनले जानकारी दिए । पुँगी खोला र केरुङगा घोलको डिपिआर निर्माणको चरणमा रहेकाले यसलाई प्राथमिकता दिइएको उनले बताए । यस्तै भरतपुर वडा नम्बर १०, ११, १२ र ७ को फोहोर पानी शुद्धिकरण सहित ढल व्यवस्थापनका लागी १० करोड रुपैंयाँको योजना अघि सारिएको छ । यसले भरतपुर अस्पताल र जिल्ला कारागारमा पानी जम्ने समस्या समाधान हुने सुवेदीले बताए ।

१० करोडको अर्को योजनामा भरतपुर ४ बाह्रघरे २ नम्बर पुल विशालचोकदेखि वडा नम्बर ५ को त्रिवेणी चोक हुँदै गीतानगर सम्म पुग्ने सडकको ढल व्यवस्थापन सहित कालोपत्रे रहेको छ ।  यो सडकको डिपिआर समेत भइसकेको छ । त्यस्तै  भरतपुर केन्द्रीय बसपार्कबाट बोहोरामार्ग, घोलबजार हुँदै गणेस्थान आँपटारी सडकका लागि १० करोड माग गरिएको छ । बाइपास सडक व्यस्त हुने भएकाले भित्रि सडक १६ मिटरको २ लेन बनाउन लागिएको सुवदीले बताए ।

प्रदेश निर्वाचन क्षेत्रबाट माग गरिएका योजनाहरु प्रदेशको गौरवका रुपमा रहने सांसद कृष्णभक्त पोखरेलले बताए । प्रदेश निर्वाचन क्षेत्रमा विभिन्न समस्याहरु रहेको भन्दै सांसद पोखरेलले योजनावद्ध रुपमा प्राथमिकताका आधारमा गरिनुपर्नेमा जोड दिए । भरतपुर क्षेत्र पानी जम्ने क्षेत्रका रुपमा रहेको भन्दै उनले ढल व्यवस्थापन मुख्य चुनौती रहेको बताए ।

सांसद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेल, प्रदेश सभा सदस्य गीता वाग्ले, मिलनबाबु श्रेष्ठ, पार्वती सिलवाल, भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाहा, प्रदेश नीति योजना आयोगका सदस्य रामचन्द्र ढकाल, जिल्ला बन कार्यालय चितवनका प्रमुख विष्णु पौडेल, जनस्वास्थ्य कार्यालका अनुप अधिकारी  लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस