कृषि विश्वविद्यालयको ताला खुल्यो, आजबाट पठनपाठन

सफल खबर संवाददाता

शुक्रबार, २७ बैशाख २०७६, १४ : २९
कृषि विश्वविद्यालयको ताला खुल्यो, आजबाट पठनपाठन

चितवन । चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा प्राध्यापकले लगाएको ताला एक महिनापछि खुलेको छ । ताला खुलेसँगै पठनपाठन सुरु भएको छ । 
गत चैत २१ गतेबाट लागेको ताला खुलेको विश्वविद्यालय प्रशासनले जनाएको छ । ताला खुलेसँगै विश्वविद्यालयको पठनपाठन पनि नियमित रुपमा सञ्चालन भएको छ । गएको चैत २१ गते विश्वविद्यालयको कृषि संकायका सहायक डिन प्राध्यापक विष्णु ओझालाई विद्यार्थीले कालोमोसो दलेर जुत्ताको माला लगाएपछि प्राध्यापकहरु आन्दोलित हुँदै विश्वविद्यालयमा ताला लगाएका थिए । प्रजातन्त्रवादी प्राध्यापक संघले दुव्र्यवहार गर्ने विद्यार्थीलाई कार्वाहीको माग गर्दै विश्वविद्यालयको पठनपाठन ठप्प पार्दै आएका थिए । 
पटक–पटकको छलफलपछि प्राध्यापक संघ ताला खोल्न सहमत भएको विश्व विद्यालयका प्रशासन प्रमुख बुद्धिनाथ ढुङ्गानाले बताउनुभयो । दुव्र्यवहारमा संलग्न विद्यार्थीलाई विश्वविद्यालयले ६० दिनका लागि निस्कासन गरेको थियो । तर कारबाही थोरै भएको भन्दै प्राध्यापकले तालावन्दी जारी राखेका थिए । विद्यार्थी संगठनले केही दिनअघि ताला खोलेलगत्तै प्राध्यापक संघले पनि ताला खोलेका हुन् । 
केही विद्यार्थीका कारण सयौँ विद्यार्थीको भविष्य अन्यौलमा पार्नुहुँदैन भन्ने निष्कर्षसहित आन्दोलन फिर्ता लिएको संघका अध्यक्ष रामआसीस साहले बताउनुभयो  । उहाँले भन्नुभयो,  ‘विद्यार्थीहरुले पनि खोल्न आग्रह गरे, विश्वविद्यालयलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन भन्ने सबैको सल्लाह आएपछि ताला खोलेका हौँ ।’   
कृषि संकायका डीन डा शारदा थपलियाले विद्यार्थी संगठन र प्राध्यापक संघको तालाबन्दी खुलेसँगै पठनपाठन आज शुक्रबारबाट नियमित रुपमा सुरु भएको बताउनुभयो । डा थपलियाका अनुसार कृषि संकायमा १६५ जना विद्यार्थी अध्ययनरत रहेका छन । 
विश्वविद्यालयमा हुने विभिन्न किसिमका विवाद, आन्दोलनका कारण पठनपाठन प्रभावित हुँदै आएको छ । विश्वविद्यालयमा भइरहने विभिन्न किसिमका आन्दोलनले विद्यार्थीसँगै विश्वविद्यालयको भविष्य नै अन्यौलमा पर्नसक्नेतर्फ सरोकारवाला चिन्तित बनेका छन् । 

प्रतिक्रिया दिनुहोस