सिक्किम, दार्जिलिङमा पोखरासँग पर्यटकीय साझेदारीका कुरा

शुक्रबार, २७ बैशाख २०७६, १२ : ०५
सिक्किम, दार्जिलिङमा  पोखरासँग पर्यटकीय साझेदारीका कुरा

पोखरा । पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान) नेतृत्वको टोलीले सिक्किम, दार्जिलिङका पर्यटन सम्बद्ध निकायका प्रतिनिधिसँग पोखरासँगको पर्यटकीय साझेदारीलगायतका विषयमा छलफल गरेको छ ।

गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ भारतको सिक्किम, दार्जिलिङ, ग्यान्तोकमा पुगेको टोलीले आफ्नो छ दिवसीय भ्रमणका क्रममा त्यहाँस्थित पर्यटन सम्बद्ध व्यक्ति तथा संस्थासँग अन्तरक्रिया गर्दै पर्यटकीय साइनो मजबुत बनाउने प्रयास गरेको हो ।

भ्रमणका क्रममा टोलीले सिक्किम राज्यका ग्रामीण विकास विभाग निर्देशक विशाल राईसँग अन्तरक्रिया ग¥यो । राईले टेवानसँग भोलिका दिन सहकार्य गरेर दुई देशका नागरिकबीच पर्यटन प्रवद्र्धनात्मक तालीम तथा ‘एक्स्पोजर भिजिट’का कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

टेवानका अध्यक्ष लक्की कार्की क्षेत्रीले टेवानको स्थापनादेखि नै पर्यटन प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम गर्दै आएको बताउँदै यस भ्रमणले दुवै देशको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।    
    
भ्रमण टोलीले भारतको पेलिङस्थित चेरी भिलेज होमस्टेका सञ्चालक सुशील तामाङसँग पनि अन्तरक्रिया गरेको थियो । अन्तरक्रियाका क्रममा तामाङले २० वर्ष अगाडि अति नै दयनीय अवस्थामा रहेको यस ठाउँमा हेमस्टे सञ्चालनसँगै धेरै कुरामा परिवर्तन तथा विकास भएको जानकारी गराउनुभयो ।
    
गाउँमै होमस्टे सञ्चालन गरी अन्तर्राष्ट्रियस्तरमा आफ्नो फरक पहिचान बनाउन सफल तामाङले यस क्षेत्रमा अथाह सम्भावना देखेर आफू मात्र होइन, धेरै युवालाई यस क्षेत्रमा लाग्न प्रेरित गरेको अनुभव सुनाउनुभयो । होमस्टे सञ्चालकले मात्र होइन, कुखुरापालक, बाख्रापालक तथा खेतीपाती उब्जाउ गर्ने किसानले पनि राम्रो आम्दानी गर्न सक्ने तामाङले बताउनुभयो ।

आफूले धेरै पटक नेपालको भ्रमण गरेको जानकारी गराउँदै तामाङले पर्यटनमा नेपालको धेरै सम्भावना रहेको उल्लेख गर्नुभयो । संस्थाका महासचिव तथा कार्यक्रम संयोजक कमला गिरीले पर्यटनसम्बद्ध संस्थाका प्रतिनिधिसँग गरिएको अन्तरक्रिया फलदायी भएको बताउनुभयो ।

भ्रमणका क्रममा अन्तरक्रिया एवं छलफलका साथै सिक्किमस्थित चारधामलगायत विभिन्न स्थान र दार्जलिङको चिया बगान आदिको स्थलगत अवलोकन गरिएको टेवानका उपाध्यक्ष रेनु थापाले जानकारी दिनुभयो । भ्रमण टोली हिजो पोखरा फर्किएको छ । (रासस)
 

प्रतिक्रिया दिनुहोस