‘प्रदेश राजधानी तोक्न सहमति र सहकार्यको नीति’

रासस

आइतबार, २२ बैशाख २०७६, २० : ४६
‘प्रदेश राजधानी तोक्न सहमति र सहकार्यको नीति’

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको स्थायी राजधानी तोक्न सहमति र सहकार्यको नीति अवलम्बन गरेको बताउनुभएको छ ।

प्रदेशसभा बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उहाँले वृहत विराट विकास क्षेत्रअन्तर्गत १८ स्थानीय तहलाई समावेश गरेको यसको विकास योजनाबद्ध गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपाली काङ्ग्रेसको विराटनगर राजधानी बनाउने मागलाई सम्बोधन गरी सकेसम्म सबैको सहमति जुटाउने काम भएको बताउनुभयो ।

उहाँले प्रदेश नं १ को राजधानी विराटनगर नै हुनेमा सबैको सहमति भएको र प्रदेशको व्यवस्थापिका तथा कार्यपालिकाको नयाँ संरचना विराटनगर, इटहरी र सुन्दर हरैचा आसपास क्षेत्रमा बन्ने जानकारी दिनुभयो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले लामो समयपछि प्रदेश राजधानीको छिनोफानो हुने अवस्थामा पुगेको बताउनुभयो ।  उहाँले प्रदेशको राजधानी विराटनगर नै हुने कुरामा ढुक्क हुन सबैलाई आग्रह गर्नुभयो ।

नेपाली काङ्ग्रेस संसदीय दलका नेता राजीव कोइरालाले प्रदेशको राजधानी विरानगर नै हुनुपर्ने र यसका सबै संरचना विराटनगरमै हुनुपर्ने प्रतिक्रिया दिनुभयो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रदेशसभाको तेस्रो अधिवेशनमा स्थायी राजधानी घोषणा हुने अवस्थामा रहेको उल्लेख गर्दै प्रदेशको राजधानी विराटनगर हुने जानकारी दिनुभयो ।

सङ्घीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता जयराम यादवले प्रदेशको स्थायी राजधानी विराटनगर नै हुनुपर्ने कारण यसको ऐतिहासिक महत्व, राजनीति केन्द्र र औद्योगिक शहर भएकाले अन्यत्र सार्न नहुने तर्क गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस