सातै प्रदेशका प्रदेश सभा सदस्यको सपथ आज, यस्तो छ तयारी

आइतबार, ०७ माघ २०७४, ११ : ०३
सातै प्रदेशका प्रदेश सभा सदस्यको सपथ आज, यस्तो छ तयारी

सात प्रदेश सभाका ५५० जना सदस्यले आइतबार सपथ लिँदै छन् । विराटनगर, जनकपुर, हेटौंडा, पोखरा, बुटवल, सर्खेत र धनगढीमा प्रदेश सभा सदस्यको सपथको तयारी चलिरहेको छ ।

बिहान ११ बजे सपथ हुने भनिए पनि कतिपय ठाउँमा अझै प्रदेश सभा सदस्यहरु उपस्थित हुन सकेका छैनन् भने केही प्रदेश प्रमुख पनि प्रदेश मुकाम जाँदै छन् ।

प्रदेश १ का सांसदको सपथ विराटनगरस्थित वीरेन्द्र सभागृहमा हँदै छ । प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यका अनुसार पहिला प्रदेश प्रमुख गोविन्द सुब्बा प्रदेशका सभा जेष्ठ सदस्यलाई सपथ खुवाउने छन् । तिनै जेष्ठ सदस्यले प्रदेश सभाका अन्य सदस्यलाई सपथ खुवाउने छन् ।

‘जेष्ठ सदस्यको सपथ केहीबेरमा हुन्छ, अन्य माननीयहरु आउँदै हुुनुहुन्छ, ११ बजेतिर उहाँहरुको पनि सपथ हुन्छ,’ आचार्यले भने । शुक्रबार साँझमात्रै प्रदेश सभा सदस्यलाई सपथका लागि मुकाममा  बोलाइएको थियो ।

दुई नम्बर प्रदेशका सांसदले जनकपुरस्थित उद्योग वाणिज्य संघको सभाहलमा सपथ लिँदै छन् । धनुषाका प्रजिअ दीलिपकुमार चापागाईँका अनुसार सपथको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।
प्रदेश ३ का प्रदेश सभाका जेष्ठ सदस्यको सपथ हेटौंडास्थित प्रदेश प्रमुखको कार्यालयमा हुने मकवानपुरका प्रजिअ चक्रबहादुर बुढाले जानकारी दिए। ‘अरु सपथ क्षेत्रीय शिक्षा निर्देशनालयको हलमा गर्न तयारी छ,’ बुढाले भने।

प्रदेश ४ का प्रदेश सभा सदस्यको सपथ नगर विकास प्रशिक्षण केन्द्रको हलमा हुँदैछ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीका अनुसार ११ बजे बुटवलस्थित उद्योग वाणिज्य संघको सभा हलमा प्रदेश ५ मा प्रदेश सभा सदस्यको सपथ हुँदैछ ।

मध्यपश्चिमका क्षेत्रीय प्रशासक सुरेश प्रधानका अनुसार प्रदेश प्रमुख दुर्गाकेशर खनाल आइतबार बिहानमात्र सुर्खेत आइपुगेका छन् । ‘जिल्ला समन्वय समितिको हलमा ११ बजे सपथको तयारी छ,’ प्रधानले भने ।

प्रदेश ७ का प्रमुख मोहनराज मल्ल भने अझै धनगढी पुग्न सकेका छैनन् । शुक्रबार सपथका लागि काठमाडौंका आएका उनी शनिबार धनगढी र नेपालगञ्जमा उडान हुन नसकेपछि सडकमार्गबाट धनगढी जाँदैछन् । ‘प्रदेश प्रमुखज्यू १२ बजे आइपुग्नुहुन्छ होला, उहाँ आएपछि जिल्ला समन्वय समितिको हलमा सपथ हुन्छ,’ कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले भने।
सबै प्रदेशमा सभाका जेष्ठ सदस्यलाई प्रदेश प्रमुखले सपथ खुवाउने र त्यसपछि जेष्ठ सदस्यले बाँकी सदस्यलाई सपथ खुवाउने  छन् ।

प्रतिक्रिया दिनुहोस