अर्बपति बनेका डा. नेपाल पाँच घण्टामै हजारमा झरे

बुधबार, १८ बैशाख २०७६, १७ : २३
अर्बपति बनेका डा. नेपाल पाँच घण्टामै हजारमा झरे

काठमाडौं । मंगलबार, पाल्पाका डा. सन्तोष नेपाल सधै झै अफिसको काम सकेर घर फर्किने तयारीमा थिए । फर्किने क्रममा उनले अनलाईनबाट आफ्नो बैंक एकाउन्ट चेक गरे । उनको नबिल बैंकमा रहेको खातामा २३,७५,९६,३३,७७६.६६ रुपैयाँ (२३ अर्ब ७५ करोड, ९६ लाख, ३३ हजार सातसय छियात्तर रुपैयाँ छैसठ्ठी पैसा) जम्मा भएको देखियो ।

एकछिन त अचम्मै परे, कहाँबाट आयो यत्तिका पैसा ? कसरी यस्तो भयो ? तर सामान्य व्यक्ति थिएनन् डा. सन्तोष, जो यतिधेरै पैसा आफ्नो एकाउन्टमा देख्दा रमाइलो मानोस् या कसरी आयो भनेर आत्तियोस् । उनले सोचे सायद बैंककै केही कमजोरी होला !

तत्कालै उनले बैकमा जम्मा भएको पैसा सहित आफ्नो खाताको स्क्रिन सट पनि गरे । उनले साथीहरुलाई सुनाए यस्तो भएछ भनेर । साथीहरुले रमाइलो गरे । एक हजारबाट एकैपटक अरब पति ! उनी हाँसे । तर, यत्तिका पैसा, कसैले नियतबश यस्तो गर्यो कि भन्ने डर पनि माने । उनले बैंकमा सम्पर्क गर्ने कोशिष गरे । तर, बैंक बन्द भइसकेको थियो । अर्को कुरा बैंकमा खाता खोलेपनि बैंकको नम्बर या बैंकका कर्मचारीसँग काम नपरी फोन नगरिने हुनाले फोन नं या उनीहरुको नाम याद पनि हुँदैन । त्यो स्वभाविक पनि हो । डा.नेपाललाई पनि त्यस्तै भयो ।

अब के गरौं भयो उनलाई । अनि आफ्नो खल्तीमा रहेको एटिएम कार्ड निकाले कार्डको पछाडि रहेको सम्पर्क नम्बरमा फोन गरे । त्यो फोन कार्ड हेर्नेले उठाए । उनले आफ्नो खातामा यति ठूलो रुपमा रकम जम्मा भएको भनेर कुरा सुनाए । ती व्यक्तिले भने–‘सर, कतै विदेशबाट पो यत्रो पैसा आयो कि ?’ उनले विस्वस्त हुँदै भने– १/२ लाख भएको भए त हो कि भन्ने, यत्रो अरबौं पैसा पनि कतै यसरी आउँछ र !’ उनले त्यति भनेर बैंकको सम्बन्धित व्यक्तिको नम्बर मागे । कार्डवालाले नम्बर पत्ता लगाएर दिए ।

त्यो फोन रहेछ बैंकका डिजिटल हेड सनत पौडेलको । उनी बैंकका डिजिटल हेड रहेछन् । नेपालले पौडेललाई मंगलबार ४ बजेर ५३ मिनेट जाँदा आफ्नो बैंक खातामा देखिएको अरबौं रुपैयाँका बारेमा बताए । पौडेलले सिस्टम चेक गरे । पैसा जम्मा भएको देखियो । अनि झण्डै आधा घण्टा नेपाल र पौडेलले दोहोरो वार्ता गर्दै एकाउन्टमा देखिएको उक्त पैसा सिस्टमबाट तानेर केही हजारमा ल्याइदिए । बल्ल सन्तोषलाई आनन्द भयो, आफ्नो खातामा केही हजार यथावत रुपमा पाउँदा ।

यत्तिका पैसा आफ्नो खातामा देख्दा तपाई त डराउनु भयो होला नि, भन्ने प्रश्नमा डा. नेपालले भने, ‘डराइन र अचम्म पनि लागेन । कहिलेकाँही यस्तै हुन्छ भनेर अन्य देशको घटना पनि पढेको थिए । सिस्टम फल्र्ट हो भनेर बुझेकाले बरु त्यो रकम आफ्नो खाताबाट कसरी हटाउने भन्ने तनाव भयो केहि समय ।’

तपाईको ठाउँमा अरु भएको भए त यो पैसा मिसयुज पनि गथ्र्यो होला हैं भन्ने प्रश्नमा उनी भन्छन्–‘गथ्र्यो कि, एटिएमबाट अनलिमिटेड पैसा निकालेर चलाउन सक्थ्यो । मैले पहिले विदेशको एउटा घटना अनलाइनमा पढेका थिए, एक महिलाको खातामा एक्कासी ठूलो अमाउन्ट जम्मा भएछ । उनले एटिएम कार्डबाट त्यो पैसा निकालेर सपिङ गरिन् । आफ्ना आफन्तलाई पैसा पठाइन् । उनले त्यो पैसा सबै त्यसरी नै सकिन् । पछि बैंकले आफ्नो पैसाका बारेमा खोजी गर्यो । पैसा कहाँ गयो त भनेर ट्रयाकिङ गदा ती महिलाको खातामा गएको रहेछ । महिलाले पैसा फर्काउन सक्ने अवस्था नभएपछि जेल जानु परेको थियो । सत्य त सत्य नै हो नि । अचानक भएको त्यस्तो घटनामा आफूले पनि ख्याल गर्नुपर्छ । नत्र सजायको भागिदार बन्नुपर्छ ।’ उनले घटनाका बारेमा सुनाए ।

बैंकका डिजिटल हेडसँग लामो फोन वार्तापछि आफ्नो खातामा यथावत् रहेको हजार रुपैयाँमा खुसी छन् डा. नेपाल । भन्छन्– ‘२३ अर्ब बढी पैसा बैंकलाई फर्काएर म मेरो खातामा रहेको केही हजारमा रमाएको छु ।’

रिब्दीकोट गाउँपालिका हार्थोक घर भई हाल धापासीमा बस्दै डा. सन्तोष नेपाल  जल तथा जलवायु विशेषज्ञ हुन् ।

प्रतिक्रिया दिनुहोस