‘पद्मावत’ का लागि ‘प्याड मेन’ पछि हट्यो

शनिबार, ०६ माघ २०७४, १४ : ३६
‘पद्मावत’ का लागि ‘प्याड मेन’ पछि हट्यो

मुंबई । बहुचर्चित र विवादास्पद बलिउड फिल्म ‘पद्मावती’ नाम फेरिएर ‘पद्मावत’ भएको छ र आउँदो २५ जनवरीका दिन यसको रिलिज हुने भएपछि यसले अरु कैयन् बलिउड चलचित्रहरूको सेड्यूल खल्बल्याइदिएको छ ।

‘पद्मावत’को आँधीमा ‘अय्यारी’ जस्ता मध्यम बजेटका चलचित्रहरूको प्रदर्शन मिति पहिले नै सारिएको भए पनि अक्षय कुमारले भने आफ्नो होम प्रोडक्सनको चलचित्र ‘प्याडम्यान’को मिति सार्न मानिरहेका थिएनन् । यसले यो वर्षको सुरुमै बलिउड बक्स अफिसमा ठुलो भिडन्त हुने मात्र हैन दुबै चलचित्रहरूको कमाइमा पनि उल्लेख्य असर पर्ने आकलन गरिएको थियो ।

केही भारतीय राज्यहरूमा ‘पद्मावत’ प्रतिबंधित गरिएकोले त्यसको फाइदा ‘प्याड म्यान’ले उठाउन सक्ने आकलनमा भारतीय सर्वोच्च अदालतले त्यस्ता प्रतिबंधहरू खारिज गरेपछि ‘प्याड म्यान’ले मैदान छोडेको हो । भारतीय फिल्म समीक्षक कोमल नाहटाले ट्विट मार्फत यस कुराको पुष्टि गरेका छन् । यसले ‘पद्मवत’का निम्ति मैदान खाली भएको छ ।
‘प्याड म्यान’ भारतको दक्षिणी राज्य तमिलनाडुका सामाजिक कार्यकर्ता अरुणाचलम मुरुगनाथमको जीवनमा आधारित चलचित्र हो । यो कथाको नायक महिलाहरूलाई स्यानिटरी प्याड बेच्ने गर्दछ । सामाजिक मुद्दामा आधारित भएकोले यसले समीक्षकहरूको समेत ध्यान खिच्ने अनुमान गरिएको छ ।

‘पद्मावत’सँगको सम्भाव्य जोखिम टरेपछि ‘प्याड म्यान’को बक्स अफिस यात्रा पनि सहज हुने अनुमान गरिएको छ अब उसले ९ फरवरीमा उसले सिद्धार्थ मल्होत्रा र मनोज बाजपेयीको अभिनय रहेको ‘अय्यारी’सँग स्क्रीन सेयर गर्नेछ । यस अघि पनि यी दुबै फिल्म २६ जनवरीमा रिलिज हुनेवाला थिए ।

प्रतिक्रिया दिनुहोस